खेल

केपी ओली कप फुटबलको तेस्रो संस्करण आजदेखि

केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ। एन्फा कम्प्लेक्स, सातदोबाटोमा दिउँसो २ बजे हुने उद्घाटन खेलमा एपिएफ र ब्ल्याक बुल्स प्रतिष्पर्धा गर्ने छन्।

आयोजक राष्ट्रिय युवा संघ नेपालका अनुसार फागुन ११ देखि १९ गतेसम्म हुने प्रतियोगितामा पछिल्ला दुई संस्करणको च्याम्पियन मच्छिन्द्र क्लव, एपिएफ, नेपाल पुलिस क्लव, त्रिभूवन आर्मी क्लव, न्युरोड टिम (एनआरटी), संकटा, भुटानको ट्रास्पोर्ट युनाइटेड, उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र आयोजकको टोलीले प्रतिष्पर्धा गर्दैछन्। दुई विदेशी टोलीमध्ये ब्ल्याक बुल्सले केही हप्ताअगाडि मात्र सम्पन्न आहारारा फुटबल प्रतियोगिताको उपाधि जितेको थियो।  

केपी ओली कपका खेलहरू सातदोबाटो एन्फा कम्प्लेक्स र फाइनल दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, प्रमाण पत्र र मेडल  प्राप्त गर्नेछन्। गत संस्करणको विजेताले ११ लाख रुपैयाँ प्राप्त गरेको थियो। सर्वोत्कृष्ट खेलाडीले १ लाख तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उदीयमान खेलाडीले समान ५० हजार र प्लेयर अफ द म्याचले १५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र पाउनेछन्। हरेक खेल जित्ने टोलीले २५ हजार रुपैयाँ पाउनेछ।

प्रकाशित: ११ फाल्गुन २०८१ १०:१२ आइतबार