दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको तेस्रो क्वाटरफाइनमा आइतबार (आज) न्युरोड टिम र बङ्गलादेशको काउर्न बजार प्रगति सङ्घ भिड्ने भएका छन्।
यसअघि शनिबार मेची रङ्गशालामा भएको दोस्रो क्वाटरफाइनमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै झापा-११ सेमिफाइनलमा प्रवेश गरेको छ। झापा-११ का लागि खेलको १४औँ मिनेटमा एरोन थापाले गोल गरे। उनले विपक्षी ‘गोलकिपर’ अगाडि बढेको फाइदा उठाउँदै मध्यभागबाट एक्लै बल अगाडि बढाउँदै गोल गरेका हुन्।
चर्च ब्वाइजका लागि खेलको ४१औँ मिनेटमा विक्रम धिमालले बराबरी गोल गरे। प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो। खेलको ७९औँ मिनेटमा झापा-११ का कप्तान पेमा तामाङले निर्णायक गोल गरे। झापा-११ का कप्तान तामाङ ‘प्लेयर अफ दी म्याच’ भए।
प्रतियोगिताको विजेता टोलीले नगद १३ लाख रुपैयाँ तथा उपविजेता टोलीले नगद सात लाख रुपैयाँ प्राप्त गर्नेछ।
प्रकाशित: ११ फाल्गुन २०८१ ०७:५० आइतबार