आइसिसी च्याम्पियन्स ट्रफीमा शुक्रबार अफगानिस्तानले साउथ अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । पहिलो पटक च्याम्पियन्स ट्रफी खेल्न लागेको अफगानिस्तानले पाकिस्तानको कराँचीस्थित नेसनल बैंक क्रिकेट स्टेडियममा अपराह्न २ः४५ बजे बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाको सामना गर्नेछ ।
पछिल्लो समय उच्च फर्ममा देखिएको अफगानिस्तानले आयरल्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश, र जिम्बाब्वे जस्ता टिमलाई पराजित गरेको थियो। साउथ अफ्रिकाले भने च्याम्पियन्स ट्रफी अघि पाकिस्तानमै न्युजिल्यान्डसमेत सहभागी त्रिकोणात्मक सिरिज खेलेको थियो । अफगानिस्तानले भने सन् २०२५ मा कुनै पनि एकदिवसीय खेल खेलेको छैन ।
अफगानिस्तान हश्मतुल्लाह शाहिदी र साउथ अफ्रिका टेम्बा बावुमाको कप्तानीमा मैदान उत्रनेछन् । दुवैलाई टोलीको प्रमुख खेलाडीका रुपमा पनि हेरिएको छ ।
च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्ड र भारतले विजयी सुरुवात गरेका छन् । न्युजिल्यान्डले आयोजक पाकिस्तानलाई ६० रनले र भारतले बंगलादेशलाई ६ विकेटले पराजित गरेका हुन् ।
प्रकाशित: ९ फाल्गुन २०८१ १३:११ शुक्रबार