नेपाली युवा टोलीका मिडफिल्डर आशिष राईको खुट्टा भाँचिएको पुष्टि भएको छ।
युनानका मोरी डेलेले उनीमाथि ३७औं मिनेटमा फउल गरेका थिए। उनको तीन ठाउँमा खुट्टा भाँचिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले जानकारी दिए। ‘उनको बायाँ खुट्टाको तीन ठाउँका हड्डी भाँचिएको पुष्टि भएको छ। शल्यक्रियाको आवश्यकता देखिएको छ,’ उनले भने।
उक्त फउलपछि उठ्न नसकेका आशिषलाई स्ट्रेचरमार्पmत मैदान बाहिर ल्याइएको थियो। लगत्तै उनलाई सानेपास्थित स्टार हस्पिटल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि बि एन्ड बि हस्पिटल ‘रेफर’ गरिएको शाहले बताए।
आशिष खेल्न नसक्ने भएपछि मुख्य प्रशिक्षक राजेश शाहीले ओमप्रकाश चौधरीलाई मैदान छिराएका थिए। आशिषको उपचारको सम्पूर्ण खर्च एन्फाले नै बेहोर्ने प्रवक्ता शाहले बताएका छन्। ‘उनलाई रिकभर हुन नै आठ महिनाभन्दा बढी समय लाग्ने देखिन्छ। राष्ट्रको जर्सीमा खेलेपछि जो कोही खेलाडी घाइते भए पनि जिम्मेवारी हामीले नै लिने हो। त्यसैले उपचार खर्च एन्फाले नै बेहोर्छ,’ उनले भने।
प्रकाशित: ४ फाल्गुन २०८१ ०७:३० आइतबार