हिसान स्पोर्टस मिट अन्तर्गत हिसान एन्फा सुनसरी कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको मंगलबारको खेलमा चार टिम विजयी भएका छन्।
पहिलो चरणको खेलमा इटहरीको पूर्वाञ्चल, धरानको एम्स, धरान मेघा र इटहरीको विश्व आदर्श कलेजको टिम क्वाटरफाइनलमा प्रवेश गरेका हुन।
पूर्वाञ्चल कलेजले धरान आदर्शलाई पराजित गरि विजयी भएको हो। पूर्वाञ्चलले धरान आदर्शलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्यो।
यस्तै, दोस्रो खेलमा एम्स एकेडेमीले सुनाखरी कलेज धरानलाई फराकिलो गोल अन्तरले हराएर विजयी भएको हो। एम्स एकेडेमीले सुनाखरी कलेजलाई ४–० गोल अन्तरले पराजित गरेको हो।
अर्को खेलमा धरान मेघा हिमालयन कलेजले ग्रीनपिस स्कुल इटहरीलाई पराजित गर्यो। धरान मेघाले ग्रीनपिसलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको हो।
मंगलबारको अन्तिम खेलमा विश्व आदर्श कलेजले स्मल हेभन कलेज धरानलाई ४–३ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।
यसैबीच, हिसान स्पोर्टस मिट अन्तर्गत नै क्रिकेट प्रतियोगितामा सुष्मा कलेज र इटहरी नमुना कलेज विजयी भएका छन्। पहिलो खेलमा सीबी कलेज नआएपछि सुष्मा कलेज वाकओभर पाएर विजयी बन्यो।
दोस्रो खेलमा इटहरी नमुना कलेजले कोशी सेन्ट जेम्स कलेजलाई ९ रनले पराजित गर्यो। टस जितेर पहिला ब्याटिङ गरेको नमुनाले निर्धारित १२ ओभरको खेलमा ८ विकेट गुमाउँदै ७७ रन जोडेको थियो।
७८ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको कोशी सेन्ट जेम्सले ९ दशमलव ३ बलमा सबै विकेट गुमाउँदै ६९ रन मात्र बनाउन सक्यो।
प्रकाशित: १५ माघ २०८१ १९:३८ मंगलबार



