खेल

ज्ञान संस्कार बास्केटबल आजदेखि

प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आजदेखि हुने भएको छ।

ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजनामा आजदेखि अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुन लागेको हो। बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत ज्ञान संस्कारकी प्रधानाध्यापक नीलम बानिया बडूले प्रतियोगिताबारे जानकारी दिएकी हुन्। जुनियर बोइजमा २४ र जुनियर गल्र्समा १६ गरी ४० टोलीको सहभागिता रहने भएको छ। प्रतियोगिताका खेलहरू सामाखुसीस्थित आयोजककै कोर्टमा खेलाइनेछ। प्रतियोगितामा कुल ७० खेल हुनेछन्।

फाइनल माघ १८ गते हुनेछ। बोइज टोलीलाई आठ समूह र गल्र्सलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल हुने आयोजकले जनाएको छ। बोइजको प्रत्येक समूहबाट शीर्ष दुई टोली प्रिक्वार्टरफाइनलमा पुग्नेछन्। गर्ल्सको हरेक समूहको विजेता र उपविजेताले क्वार्टरफाइनलमा स्थान बनाउनेछन्। विधागततर्फ मोस्ट भेलुएबल प्लेयर, उत्कृष्ट थ्री प्वाइन्टर र सर्वाधिक स्कोरकर्तालाई पनि पुरस्कृत गरिनेछ। प्रतियोगिताका लागि करिब तीन लाख रूपैयाँ खर्च हुने संयोजक पूर्ण न्यौपानेले जानकारी दिए।  

प्रकाशित: ११ माघ २०८१ ०८:२२ शुक्रबार

# Final Jan 18 # Gyan Sanskar Basketball from today