नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको महिला टोलीबीच हुने त्रिकोणात्मक टी-२० आई सिरिजको खेल तालिका परिवर्तन भएको छ । सिरिज भने माघ १७ गतेदेखि नै सुरु हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीवार विज्ञप्ति जारी गर्दै नयाँ खेल तालिका सार्वजनिक गरेको हो । सिरिज माघ १७ देखि २५ (जनवरी ३० देखि फेब्रुअरी ७) गते सम्म हुने भएपनि खेल हुने दिन भने परिवर्तन गरिएको क्यानले जनाएको छ । सिरिजका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
सिरिजमा सहभागी टोलीले एकअर्कासँग ३ पटक खेल्नेछन् । उद्घाटन खेलमा घरेलु टोली नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । अन्य खेलमा नेपालले माघ १९ गते थाइल्याण्डसँग, माघ २० गते नेदरल्याण्ड्ससँग, माघ २२ गते थाइल्याण्डसँग, माघ २३ गते नेदरल्याण्ड्ससँग र माघ २५ गते पुनः थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
राष्ट्रिय महिला टोलीले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो टी-२० आई सिरिज हो । यसअघि नेपालले घरेलु मैदानमा सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको सिरिज खेलेको थियो
प्रकाशित: १० माघ २०८१ १३:४६ बिहीबार