प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले आफ्नो अपराजित यात्रालाई सुपर फोरमा पनि निरन्तरता दिएको छ । समूह चरणमा अपराजित रहँदै सुपर फोरमा पुगेको एपीएफले बिहीबार बागमती प्रदेशलाई १० विकेटको फराकिलो अन्तरमा पराजित गर्यो ।
कैलाली धनगढीको फाप्ला क्रिकेट मैदानमा बागमतीले दिएको ४३ रनको लक्ष्य एपीएफले ६.५ ओभरमा बिना क्षति पूरा गर्यो । उसको जितमा ममता चौधरीले २३ र राजमती ऐरीले १४ रन बनाए ।
यसअघि पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित १८ ओभरमा ८ विकेट गुमाएर ४२ रन बनाएको थियो । बागमतीका लागि कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
बागमतीलाई कम स्कोरमा रोक्न सुमन बिष्टले ३, बिन्दु बुढा र रेखा रावलले समान २ तथा कविता जोशीले एक विकेट लिए ।
समूह ए को विजेता बन्दै एपीएफ र उपविजेता बन्दै सुदूरपश्चिम प्रदेश तथा समूह बीको विजेता बन्दै त्रिभुवन आर्मी क्लब र उपविजेता बन्दै बागमती प्रदेश प्रतियोगिताको सुपर फोरमा पुगेका हुन् । सुपर फोरमा फरक समूहका टिमबीचमात्र खेल हुनेछ । सुपर फोरमा शीर्ष स्थानमा रहने दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित: १० माघ २०८१ १३:३४ बिहीबार