एक महिनाको व्यस्त क्यालेन्डर अनि तीन महिनाको थकाइ मार्ने ‘ब्रेक’ सँगै अन्ततः एन्फा महिला लिग निर्णायक मोडमा पुग्ने भएको छ।
यससँगै लिगको ‘फम्र्याट’ मात्रै होइन, सहभागी टोली पनि साँघुरिदै जानेछन्। र, यसलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले छुट्टै नामकरण गरेको छ, फाइनल लिग। यो लिग त्यही महिला लिगको एक अंश नै हो। तर, यसमा पहिलाजस्तो १० होइनन्, पाँच टोलीले मात्रै सहभागिता जनाउनेछन्। सर्लाहीको बागमती क्लबले बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई चुनौती पेस गर्दै यो नयाँ फम्र्याटमा खेलाइने लिगको सुरुआत गर्नेछ।
आर्मीकी कप्तान पुनम जर्घामगरले पहिला देखिएको कमीकमजोरीलाई सुधार गर्दै उपाधि जित्ने लक्ष्य रहेको बताइन्। ‘टिमको तयारी राम्रो भइरहेको छ। बीचमा फुटबल नभए पनि हामी विभागीय टोली हौं, हामीले प्रशिक्षण गरिरहेका छौं। त्यसैले समस्या हुनेछैन,’ खेलअघि पत्रकार सम्मेलनमा भनिन्।
विभागीय तीनसहित १० टोलीले गत भाद्र र असोजमा एन्फा कम्प्लेक्सको मैदानमा राउन्ड रोबिनको आधारमा सञ्चालित लिगको पहिलो चरणमा प्रतिस्पर्धा गरेका थिए। ४५ खेलपश्चात् सशस्त्र प्रहरी बल एपिएफ (२५ अंक) पहिलो, आर्मी (२२) दोस्रो, नेपाल पुलिस क्लब (२१) तेस्रो, वालिङ नगपालिका (१५) चौथो र कोसी (१४) पाँचौं स्थानमा रहे।
बागमती (१०) छैटौं, संकटा फुटबल क्लब (आठ) सातौं, चन्द्रपुर नगरपालिका (आठ) आठौं, कर्णाली प्रदेश (चार) नवौं र सबै खेल हारेको सुदूरपश्चिम प्रदेश अन्तिम तथा १०औं स्थानमा रहेका थिए।
एन्फाले पहिला नै शीर्ष पाँच टोलीले अर्काे चरणको लिग खेल्न पाउने घोषणा गरेको थियो। तर, आर्थिक संकट जनाउँदै कोसी प्रदेश फुटबल संघको टोलीले नखेल्ने भएपछि एन्फाले बागमतीलाई स्थान दिएको हो। फाइनल लिगमा सहभागी पाँच टोलीले एकअर्काविरुद्ध दुईदुई खेल खेल्नेछन्।
त्यसबाट एक टोली बाहिरिइनेछ भने शीर्ष चार टोली प्लेअफ पुग्नेछन्। त्यसमा शीर्ष दुई टोली पहिलो क्वालिफायरमा पुग्नेछन्। तेस्रो र चौथो स्थान हासिल गर्ने टोली इलिमिनेटरमा प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ। पहिलो क्वालिफायर विजेताले सीधै फाइनलमा स्थान बनाउनेछ।
पराजित टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वालिफायर विजेताले उपाधिका लागि पहिलो क्वालिफायर विजेताको सामना गर्नेछ। प्लेअफदेखिका सम्पूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ।
लगत्तै फोर नेसन्स कप
एक महिना चल्ने फाइनल लिगपछि पनि महिला खेलाडीले थकाइ भने मार्न पाउने छैनन्। माघ १६ गते लिग सकिएसँगै एन्फाले फोर नेसन्स कपको पनि तयारी गराउने छ। एन्फाका अनुसार एफसी एसियन कप २०२६ को छनोटको तयारीमा रहेको नेपालले फागुन ४ देखि १५ गतेसम्म फोर नेसन्स कप खेल्न लागेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने प्रतियोगितामा किर्गिस्तान, लेबनान र म्यानमारले सहभागिता जनाउनेछन्। यी खेल फ्रेबुअरीको ‘फिफा अन्तर्राष्ट्रिय म्याच विन्डो’ मा हुन् लागेका हुन्। नेपाली टोली गत कात्तिकपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किनेछ।
दशरथ रंगशालामै भएको सातौं संस्करणको साफ च्याम्पियनसिपको फाइनलमा बाङ्लादेशसँग २–१ ले पराजित भएसँगै नेपाली खेलाडी फुर्सदिला भएका थिए। यता, नेपाली महिला टोली प्रशिक्षकविहीन छ।
फाइनल खेललगत्तै मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामाको घोषणा गरेका थिए। उनको प्रशिक्षणमा नेपाल गत वर्ष फागुनमा साउदी अरबमा सम्पन्न वाफ च्याम्पियनसिपमा फाइनल पुगेको थियो। त्यतिखेर जोर्डनसँग पराजित भएको नेपालले उनको प्रशिक्षणमा साफमा पनि फाइनलमै हार बेहोरेको हो।
वाफ च्याम्पियनसिपमा लेबनान पनि सहभागी थियो। नेपालले सेमिफाइनलमा लेबनानलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। तर, पेनाल्टी सुटआउटमा जोर्डनसँग नेपाल ५–३ ले पराजित हुन पुग्यो।
प्रकाशित: १८ पुस २०८१ ०९:०९ बिहीबार