खेल

निर्जला र राजन पहिलो

राष्ट्रिय फ्रिस्टायल रोल्लर स्केटको महिलामा पहिलो भएकी निर्जला श्रेष्ठ

निर्जला श्रेष्ठ र राजन मगराती आइतबार तेस्रो राष्ट्रिय फ्रिस्टायल रोलर स्केट प्रतियोगितामा पहिलो भएका छन्।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा भएको प्रतियोगिताको पुरुषमा राजन र महिलामा निर्जला पहिलो भएका हुन्। गल्फुटारमा भएको प्रतियोगिताको पुरुषमा सोहन गुरुङ दोस्रो र रोहन कुँवर तेस्रो भए।

महिलामा सन्ध्या मगरले रजत र निमिषा तामाङले कांस्य जिते। पुरुष/महिला दुवैमा शीर्ष तीन स्थानका खेलाडीले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे। पुरुषमा दुई सय ५० खेलाडीमध्ये ४० र महिलामा एक सय ५० मध्ये १० खेलाडीले मुख्य स्पर्धामा चुनौती प्रस्तुत गरेका थिए। खेलाडीको छनोटचरणका खेल शनिबार भएका थिए।

सोही छनोट चरणबाट खेलाडी छानिएको आयोजक संघका महासचिव सत्य थापाले जनाएका छन्। विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल क्लाइम्बिङ संघका अध्यक्ष रमेश पौडेल र आयोजक संघका अध्यक्ष अच्युत खनाललगायतले पुरस्कृत गरे।

सो अवसरमा अध्यक्ष खनालले यसै प्रतियोगिताको प्रदर्शनका आधारमा समान पाँच पुरुष/महिला गरी १० खेलाडीले दक्षिण कोरियामा जुनमा हुने एसियन रोलर डारबी प्रतियोगितामा खेल्ने बताए।  

प्रकाशित: १ पुस २०८१ ०८:३७ सोमबार

# 3rd National Freestyle Roller Skate Competition # Nirjala and Rajan first