विराटनगर किङ्सको जितमा अलराउण्डर प्रदर्शन गरेका बसिर अहमदले अघिल्लो खेलमा हारेकाले आज धेरै राम्रो गर्छु भनेर खेलेको बताएका छन्।
चितवन राइनोजविरुद्ध जित निकालेपछि विराटनगरका बसिरले शुरुमा नै विकेट गएकाले ठूलो स्कोर बन्छ भन्ने नलागे पनि समय लिएर खेल्ने उद्देश्य रहेको उल्लेख गरे। उनले काठमाडौं गुर्खाजविरुद्धको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यसहित खल्ने बताएका छन्। आफ्नो क्याच छोडे पनि आज लामो इनिङ खेल्छु भन्ने विश्वास पलाएको उल्लेख गरे। उनले आजको खेललाई आफ्नो करियरका खेलमध्ये राम्रो बन्न सकिने बताए।
चितवन राइनोजका रिजन ढकालले पहिलो इनिङदेखि खेलपछि परेको उल्लेख गरेका छन्। बलिङ गर्दा राम्रो शुरुवात दिलाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको उनको भनाइ छ। उनले यी हारका बाबजुद पनि प्लेअफ सम्भावना रहेको उल्लेख गरेका छन्। उनले बसिरको क्याच छोड्नु नै टर्निङ पोइन्ट रहेको बताए।
नेपाली खेलाडीहरूले आफ्नो जिम्मेवारी अनुरूप पनि नखेल्दा पछाडि परेको रिजनको बुझाइ छ। टिमको जित नभएसम्म आफ्नो प्रदर्शनबाट सन्तुष्ट नहुने उल्लेख गरेका छन्। अन्तिम खेलमा जित्नका लागि आफूले धेरै मिहिनत गर्ने उनी बताउँछन्।
प्रकाशित: २८ मंसिर २०८१ १८:४४ शुक्रबार