खेल

एनपीएलमा आज पनि दुई खेल हुँदै, प्लेअफका लागि विराटनगर र कर्णाली संघर्षरत

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुईवटा खेल हुँदैछन्। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स आमने सामने हुनेछन्।  

प्लेअफ होडबाट बाहिरसकेको लुम्बिनीले लिगकै अन्तिम खेल खेल्न लागेको हो।  तीन खेल जितेको कर्णाली लयमा छ । 

लुम्बिनीलाई पराजित गरेमा कर्णाली प्लेअफको निकट पुग्नेछ। ५ खेल खेलेको कर्णालीले ३ मा जित र २ मा हार बेहोर्दैं  ६ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ। कर्णालीलाई भने प्लेअफ पुग्न जित अत्यावश्यक छ। हारले कर्णालीलाई अफ्ठ्यारोमा पार्नेछ।

त्यस्तै, दोस्रो खेलमा विराटनगर किंग्स र चितवन राइनोज  प्रतिस्पर्धा गर्नेछन्।  खेल दिउँसो १ बजे हुनेछ। ५ खेलमध्ये चारमा हार र एकमा जित निकालेको विराटनगर अंक तालिकाको पुछारमा छ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरको  दुई अंक मात्र छ । आजको खेलमा चितवनविरुद्ध पराजित भए विराटनगर प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिने दोस्रो टिम बन्नेछ। प्लेअफ पुग्ने गणितीय सम्भावना कायम राख्न विराटनगरलाई जित्नै पर्ने दबाब छ।  

कुशल मल्लको कप्तानीमा रहेको चितवन भने जितसहित प्लेअफ सम्भावनालाई बलियो बनाउने लक्ष्यमा मैदान उत्रन लागेको छ। तालिकाको तेस्रो स्थानमा रहेको चितवनले पाँच खेलमा तीन जितसहित ६ अंक जोडेको छ।

एनपीएलको जारी प्रतिष्पर्धामा प्लेअफमा पुग्ने जनकपुर पहिलो टोली बनेको छ।

प्रकाशित: २८ मंसिर २०८१ ०७:५२ शुक्रबार

#NPL #biratnagar