खेल

एनपीएलः सुदूरपश्चिमको अपराजित यात्रा टुंगियो, चितवनको तेस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोएल्सको अपराजित यात्रामा पूर्णबिराम लागेको छ ।  

आफ्नो चौथो खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको हो । हारपछि सुदूरपश्चिमले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । चौथो खेलमा तेस्रो जितसहित चितवनले सदूरपश्चिमसँग अंक बरबारी गरेको छ । समान ६ अंक भएपनि रनरेटका आधारमा सुदूरपश्चिम दोस्रो र चितवन तेस्रो स्थानमा कायम छन् ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८.२ ओभरमा १३१  रनमा अलआउट भयो । सुदूरका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन बनाए ।  सैफ जैब १८ रनमा आउट भए ।  

सुदूरलाई सस्तैमा समेट्ने क्रममा रिजन ढकाल, कुशल मल्ल, जान निकोल र अमर राउटेलाले समान २-२ तथा सोएल तन्भिर र रञ्जित कुमारले समान १-१ विकेट लिए । 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६४ रनको योगफल तयार पारेको थियो। उसका लागि हसन इशाखिलले ५२ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा ६५ रन बनाए ।  

रवि बोपारा ३६ रनमा क्याच आउट भए । मात्र १८ बलमा समान २(२ छक्का र चौका प्रहार गरे । विपिन रावलले १७ रन बनाउँदा क्याप्टेन कुशल मल्ल १३ रनमा बोल्ड भए ।  

सुदूरपश्चिमका लागि स्कोट कुग्गेलिनले २ तथा दीपेन्द्रसिंह ऐरी, ब्रेन्डोन म्याकमुलेन र सैफ जैबले समान एक-एक विकेट लिए । 

यो पनि पढ्नुहोस्

एनपीएलः जनकपुरको अपराजित यात्रा कायमै, रोमाञ्चक खेलमा लुम्बिनी पराजित

प्रकाशित: २३ मंसिर २०८१ १६:१९ आइतबार