नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्समाथि एक रनको रोमाञ्चक जित निकाल्दै जनकपुरले आफ्नो अपराजित यात्रालाई चौथो खेलसम्म पुर्याएको हो । लुम्बिनीको भने यो लगातार चौथो हार हो ।
जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३५ रनमात्र बनाउन सक्यो । जितका लागि अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा लुम्बिनीले दुई विकेट गुमाएपछि पहिलो जित दर्ता गर्नबाट चुक्यो । साद बिन जफर शुन्य र सन्दीप जोरा १६ रनमा आउट भए । क्याप्टेन रोहित पौडेलले ३५ र टम मुर्सले ३१ रन बनाएपनि जित भने दिलाउन सकेनन् ।
लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा हर्स ठाकरले ५ विकेट लिए । आफ्नो स्पेलमा २३ रन खर्चेर हर्सले ५ विकेट झारेका हुन् । किशोर महतो, ललित राजवंशी र शेर मल्लको नाममा एक-एक विकेट रह्यो ।
पहिला ब्याटिङ गरेको जनकपुरले भने निर्धारित ओभरमा ९ विकेट गुमाएर १३६ रनको योगफल तयार पारेको थियो । क्याप्टेन अनिल साहले ४५, लाहिरु मिलान्थाले २४, शुभ कंसाकारले २२ र आसिफ शेखले १६ रन बनाएका थिए । अन्यले दोहोरो अंक छुन सकेनन् ।
लुम्बिनीका लागि अभिनाष गौतमले ३, साद बीन जफर र रोहित पौडेलले समान २२ तथा सन्दीप जोराले एक विकेट लिएका थिए ।
जितपछि जनकपुर ८ अंकमा शीर्ष स्थानमा उक्लिएको छ भने लगातार चौथो हार भोगेको लुम्बिनी पुछारमा छ ।
एनपीएलमा आइतबार नै अर्को अपराजित टोली सुदूरपश्चिम रोएल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित: २३ मंसिर २०८१ १२:१७ आइतबार