खेल

बङ्गलादेशविरुद्ध नेपालले ४० रन बनायो

संयुक्त अरब इमरेट्स (युएई)मा जारी १९ वर्षमुनिका खेलाडी सम्मिलित (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरुद्धको खेलमा नेपालले १० ओभरको खेल जारी रहँदा नेपाल दुई विकेट गुमाएर ४० रन जोड्न सफल भएको छ। 

युएईको दुबई क्रिकेट रङ्गशालामा बङ्गलादेशका कप्तान अजिजुल हकिमले टस जितेर पहिला फिल्डिङ गर्ने भएका छन् भने नेपालले ब्याटिङ गर्नेछ। एसिया कपको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो। बङ्गलादेशलाई हराउँदै नेपाल पहिलो जितको खोजीमा छ। पहिलो खेलमा अफगानिस्तानलाई हराएको बङ्गलादेश प्रतियोगिताको दोस्रो जितको खोजीमा छ।

नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष तीनमा रहेर छनोट भएका हुन्। गत वर्षको अक्टोबरमा भएको उक्त प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो।

प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपालसहित श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान समूह ‘बी’मा छन्। भारत, पाकिस्तान, जापान र युएई समूह ‘ए’मा छन्। रासस

प्रकाशित: १६ मंसिर २०८१ ११:३४ आइतबार

#Nepal vs Bangladesh