खेल

भलिबल खेलाडी उषा भाट भटेनीको स्पोर्ट्स ब्रान्ड एम्बासडर

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारी भाट भटेनी सुपर मार्केटको स्पोर्ट्स ब्रान्ड एम्बासडर नियुक्त भएकी छिन्।

महाराजगन्जस्थित आफ्नै भवनमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत भाट भटेनीले भलिबलकी स्टार खेलाडी उषालाई आगामी एक वर्षका लागि आफ्नो स्पोर्ट्स ब्रान्ड एम्बासडर घोषणा गरेको हो।

सो अवसरमा खेलपोशाक कम्पनी टी टेन स्पोर्ट्सले पनि उषालाई ब्रान्ड एम्बासडर घोषणा गर्‍यो। कार्यक्रममा भाट भटेनी सुपर मार्केटका डाइरेक्टर कल्याण गुरुङ, टी टेनका हेड अफ बिजनेस डेपलभमेन्ट आलोकजंग जोशी र भलिबल खेलाडीबीच त्रिपक्षीय सम्झौता भएको थियो।

भाट भटेनीले सम्झौताअनुरूप उषालाई १० लाख रुपैयाँ दिने भएको छ। उनले हरेक महिना ८३ हजार तीन सय ३३ रुपैयाँ प्राप्त गर्ने भाट भटेनीले जनाएको छ।टी टेनले भने पाँच लाख रुपैयाँ प्रदान गर्ने भएको छ।

सो अवसरमा भाट भटेनी सुपर मार्केटका डाइरेक्टर कल्याण गुरुङले नेपालको महिला भलिबल फ्रेन्चाइज लिगमा पनि टोली खरिद गर्दै महिला भलिबलको विकासमा काम गर्न तयार रहेको बताए। 

प्रकाशित: ३० कार्तिक २०८१ २०:२० शुक्रबार

#Usha Bhandari #Bhat Bhateni Super Market #Brand ambassador #Volleyball player