खेल

यू–१९ राष्ट्रिय क्रिकेट: लुम्बिनी फाइनलमा, बागमतीको आशा कायमै

विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी र बागमती प्रदेश विजयी भएका छन्।

लुम्बिनीले लगातार ५ खेलमा जित हात पार्दै एक खेल अगावै फाइनलमा स्थान पक्का गरेको छ। बागमतीले कोसीलाई पराजित गर्दै फाइनलमा पुग्ने आशा जीवितै राखेको छ।  

बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा बागमतीले कोसी प्रदेशलाई ७० रनले पराजित गरेको छ। पराजित भएसँगै कोसी प्रतियोगिताबाट बाहिरिएको छ। 

टस जितेर पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरको खेलमा ४८ दशमलव ३ बलमा सबै विकेट गुमाई १ सय ८१ रनको सामान्य योगफल बनायो। बागमतीका शार्थक धितालले ३५ रन बनाउँदा उत्तम मगरले पनि ३५ रन बनाए। कोसीका प्रतीक पोखरेल र प्रेम कामतले समान ३–३ विकेट लिए। 

१ सय ८२ रनको लक्ष्य पाएको कोसी २९ दशमलव ५ बलमा सबै विकेट गुमाउँदै १ सय ११ रनमा सीमित भयो । कोसीका सोनु अन्सारीले ३० रन बनाउँदा कृतिक कामतले २६ रन जोडे । बागमतीको प्लेयर अफ म्याच दिपक सेरलाले सर्वाधिक ५ विकेट लिए। उनले १० ओभरमा ३ मेडन राख्दै २० रन दिए । बागमती ४ खेलमा २ मा जित हात पार्दै तेस्रो स्थानमा उक्लिएको छ भने कोसी ५ खेलमा १ मा जित र ४ खेलमा पराजित हुँदै छैठौ स्थानमा रहेको छ।

त्यसै गरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा शनिबारनै भएको अर्को खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । पानी परेपछि २७ ओभरमा छोट्याएको खेलमा टस जितेर ब्याटिङ गरेको गण्डकीले ९ विकेट गुमाई ८६ रन बनायो । गण्डकीका सोहेल कुँवरले सर्वाधिक २५ रनको योगदान दिए। लुम्बिनीका सन्तोष यादवले ३ विकेट लिँदा आकाश त्रिपाथीले पनि ३ विकेट लिए।८७ रनको विजयी लक्ष्य पाएको लुम्बिनीले २२ दशमलव ४ बलमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। लुम्बिनीका सन्तोष यादवले सर्वाधिक नटआउट ४४ रन बनाए । गण्डकीका अपरित पौडेल र सिब्रीन श्रेष्ठले २–२ विकेट लिए। प्लेयर अफ द म्याच लुम्बिनीका अलराउण्डर खेलाडी सन्तोष यादव घोषित भए।

गण्डकी ५ खेलमा अपराजित रहँदै १० अंकमा पहिलो स्थानमा रहेर फाइनलमा पुगेको छ। गण्डकीले ५ खेलमा २ मा जित र ३ मा पराजित हुँदै ४ अंकका साथमा चौथो स्थानमा झरेको छ। 

आइतबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा सुदूरपश्चिम र बागमती प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा गण्डकी र कर्णाली प्रदेशबीच खेल हुनेछ।

प्रकाशित: १७ कार्तिक २०८१ १८:०९ शनिबार

#U-19 National Cricket Tournament #Naresh Shrestha Memorial Cricket #biratnagar #Bagmati Province #Lumbini Province