खेल

यू १९ राष्ट्रिय क्रिकेटको उद्घाटन खेलमा मधेस प्रदेश विजयी

तस्बिर क्यान

मधेस प्रदेशले नरेश श्रेष्ठ मेमोरियल मेन्स यू –१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

विराटनगरको बैजानाथपुरस्थित गिरिजाप्रसाद कोइराला खेल मैदानमा शनिबार भएको खेलमा मधेसले घरेलु टोली कोसी प्रदेशलाई २२ रनले पराजित गर्दै २ अंक जोड्न सफल भएको हो।

टस जितेर पहिलो ब्याटिङ थालेको मधेसले ४६ ओभर २ बल खेल्दै सबै विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो। मायन यादवले ५२ रन, सकिल पटेलले ४८ रन, अभिषेक तिवारीले २३ रन,निरजकुमार यादवले २१ रन, साहिवान अलीले १७ रनको योगदान गरे। बलिङतर्फ कोसीका विपिनकुमार महतोले ७ विकेट, प्रेमकुमार कामतले २ र सुजनप्रसाद घिमिरेले १ विकेट लिए।

कोसी १ सय ८६ रन पछ्याउने क्रममा ४३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६३ रनमै सीमित भयो। सोनु अन्सारीले ३९ रन र आशिष राना मगरले ३१ रन बनाए । मधेसका लागि अफ्रुदिन राइन र रन्जित कुमारले ३–३ विकेट तथा राजेश यादव, अभिषेक तिवारी र रोहनकुमार साहले १–१ विकेट लिए। 

प्लेयर अफ द म्याच कोसीका विपिनकुमार महतोले ३ हजार रुपैयाँ  प्राप्त गरे।कोसी प्रादेशिक क्रिकेट संघको समन्वयनमा नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको प्रतियोगिताका आइतबार विराटनगरस्थित बैजानाथपुरको गिरिजाप्रसाद कोइराला मैदानमा लुम्बिनी प्रदेश र कोसी प्रदेश तथा मेर्लिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा मधेस प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ।

प्रकाशित: १० कार्तिक २०८१ १९:३७ शनिबार

#Madhes Province #U19 National Cricket #Girija Prasad Koirala Playground #Naresh Shrestha Memorial Men's U-19 National Cricket