खेल

कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिप सुरु

नेपाल र कोरियाबीच दौत्य सम्बन्ध भएको ५० औं वार्षिकोत्सवको अवसरमा कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिप शुक्रवारदेखि सुरु भएको छ।

नेपालस्थित दक्षिण कोरियाली दूतावासको आर्थिक सहयोग र नेपाल तेक्वान्दो संघको आयोजनामा चार दिने प्रतियोगिता सुरु भएको हो। उक्त प्रतियोगिताको नेपाली कांग्रेसका महामन्त्री गगन थापा र कोरियाली राजदूत पार्क ताइ योङले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरे।उक्त प्रतियोगितामा ग्यरोगी र पुम्से गरी कुल ७२ स्वर्ण पदकका लागि करिब १२ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

उद्घाटनको अवसरमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तेक्वान्दो खेलसँग आफ्नो विशेष सम्बन्ध रहेको उल्लेख गर्दै आफ्ना दुई छोरीलाई पनि कुनै खेल खेल्नुपर्छ भन्ने मान्यता राखेर तेक्वान्दो प्रशिक्षण गराउँदै आएको बताए। उनले कोरियन एम्बेसडर तेक्वान्दो च्याम्पियनसिपबारे पनि जानकार रहेको उल्लेख गरे।

पूर्व मन्त्रीसमेत रहेका थापाले नेपाल र कोरियाबीचको सम्बन्ध दशकौंसम्म जारी रहने आशा व्यक्त गर्दै नेपालका विभिन्न क्षेत्रमा कोरियाको लगानी आवश्यकता रहेको धारणा राखे। उनले कोरियासँग नेपालले विभिन्न क्षेत्रमा सहकार्य गर्न चाहेको बताए।

नेपाल तेक्वान्दो संघको अध्यक्ष प्रकाश समसेर राणाले सातै प्रदेशका करिब १२ सय खेलाडीले प्रतिस्पर्धा गर्ने बताए । उनले नेपालमा दक्षिण कोरिया सरकारले खेलकुदका साथै विभिन्न क्षेत्रमा महत्त्वपूर्ण सहयोग गरिरहेको उल्लेख गरे।

उनले यो प्रतियोगिताका लागि दक्षिण कोरियाली दूतावासबाट सहयोग गरेको उल्लेख गर्दै नेपालसँगको सम्बन्ध ५० वर्ष पुगेको अवसरमा खेल आयोजना गरेको बताए। 

प्रकाशित: २ कार्तिक २०८१ १९:०८ शुक्रबार

#Korean Ambassador Open Taekwondo Championship