विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता-२०२४ का लागि दक्षिण कोरिया गएका तेक्वान्दो प्रशिक्षक एवं राष्ट्रिय रेफ्री जगन अधिकारीलाई नुवाकोट समाज दक्षिण कोरियाले सम्मान गरेको छ।
अधिकारीलाई समाजको वार्षिक उत्सवको अवसरमा आयोजित बृहत् वनभोज तथा भेटघाट कार्यक्रममा सम्मान गरिएको हो।
कार्यक्रममा नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष बुद्धि बहादुर तामाङ र एनआरएनए एनसिसीका निवर्तमान सदस्य सोम वाइवा तामाङले सम्मान पत्र हस्तान्तरण गरेका थिए।
साथै, नुवाकोट समाजका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार राम कुमार गौतम, तामाङ घेदुङ दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्यान्ताङ, जनप्रगतिशील मञ्च दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष जीवन खतिवडालगायतले दोसल्ला ओढाएर अधिकारीलाई सम्मान गरेका थिए।
समारोहमा बोल्दै नुवाकोट समाजका अध्यक्ष तामाङले अधिकारीले तेक्वान्दो मार्फत नुवाकोट जिल्ला र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै युएईमा रहेका नेपालीसहित विभिन्न देशका खेलाडीलाई प्रशिक्षण दिएर देशको गौरव बढाएको चर्चा गरे।
उनले भने, "अधिकारीले युएईको पहिलो नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री बन्न सफल भई नेपाललाई विश्वमा चिनाउने कार्य गरेका छन्।"
त्यसैगरी, एनआरएनए एनसिसीका निवर्तमान सदस्य तामाङले अधिकारीको लगनशीलताले सिंगो नेपाललाई विदेशमा प्रतिनिधित्व गर्दै नेपालको प्रतिष्ठा उच्च राख्न महत्त्वपूर्ण भूमिका खेलेको बताए।
नुवाकोट समाजका निवर्तमान अध्यक्ष गौतमले पनि अधिकारीको योगदानको चर्चा गर्दै भने, "अधिकारीले खेलकुदको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउँदै आएका छन्। उनले विभिन्न संघसंस्थाहरूसँग सहकार्य गर्दै सामाजिक कार्यहरूमा पनि अग्रसरता देखाएका छन्, जसले हामीलाई गौरवान्वित बनाएको छ।"
विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता-२०२४ मा सहभागिता जनाउन अधिकारीको नेतृत्वमा युएईका नेपाली खेलाडीहरू दक्षिण कोरिया गएका थिए। ह्यान्ड नाइफ ब्रेकिङ विधामा फाइनलसम्म पुगेका भए पनि अधिकारी पदक जित्न असफल भए।
अधिकारीले यसअघि फेब्रुअरीमा अमेरिकामा आयोजित विश्व वरियताको जी–२ २०२४ यूएस ओपन तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए।
विगत एक दशकदेखि युएईमा रहँदै उनले नेपाली, अरबी, कोरियन, फिलिपिन्सलगायतका खेलाडीलाई तेक्वान्दो प्रशिक्षण दिँदै आएका छन्।
प्रकाशित: २४ श्रावण २०८१ १९:५९ बिहीबार