खेल

उसुमा नेपाललाई १३ स्वर्ण र नौ रजत

छैटौं सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिप (फेस्टिभल) मा १३ स्वर्ण र नौ रजत जित्दै नेपाल दोस्रो भएको छ। प्रशिक्षक विशाल थापाको नेतृत्वमा १२ जनाको टोली सिंगापुर गएको थियो। च्याम्पियनसिपमा थापाले उत्कृष्ट प्रशिक्षकको पुरस्कार प्राप्त गरे।

विभिन्न विधामा खेलाडीहरू अलिस मारिकले तीन र हिमांशु खड्काले दुई स्वर्ण ल्याए। सफल पाठक, भावेश खड्का, समीर बस्नेत, रिदम गोलेले एक/एक स्वर्ण प्राप्त गरे। यस्तै, बबिता थापामगरले दुई, अपेक्षा लामा र यान्चेन्ला इलावाले एक/एक स्वर्ण प्राप्त गरेको प्रशिक्षक थापाले जानकारी दिए।

यस्तै सफल पाठक, समीर बस्नेत, रिदम गोलेले एक/एक रजत पनि प्राप्त गर्न सफल भए। महिलातर्फ सेरिना पराजुली र फुर्पीग्याल्मो तामाङले दुई÷दुई तथा यान्चेन्ला इलावा र गु्रप इभेन्टमा एक/एक रजत प्राप्त भएको उसु महासंघका महासचिव नवराज ढुंगानाले जनाकारी दिए।

टोली स्वदेश फिर्ता भइसकेको छ। बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निमित्त सदस्यसचिव अञ्जन धमलाले खेलाडीहरूलाई बधाई दिँदै सम्मान गरे। उनले खेलाडीहरूको उच्च प्रदर्शनले नेपालीको सान बढेको बताए।

प्रकाशित: १७ श्रावण २०८१ ०७:०५ बिहीबार

#Machindra Club #Usuma Nepal