खेल

एसिसी महिला एसिया कपः यूएईविरुद्ध नेपालको गतिलो जवाफ

एसिसी महिला एसिया कप २०२४ को उद्दघाटन खेलमा यूएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले गतिलो जवाफ फर्काएको छ।  

श्रीलंकास्थित दाम्बुला क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले ५ ओभरको खेल सकिँदा बिना क्षति ३९ रन बनाएको छ। क्रिजमा सम्झना खड्का २१ र सिता रानामगर ७ रनमा छन्।  

यसअघि नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो। 

यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ र कभिसा गोडागले २२ रनको योगदान गरे ।  

नेपालका लागि कप्तान इन्दु बर्माले ३ तथा कृतिका मरासिनी र सबनम राईले एक एक विकेट लिए। दुई जना रनआउट भएका थिए।  

समूह ए मा रहेको नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ मा र भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ।  

समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। 

प्रकाशित: ४ श्रावण २०८१ १६:३१ शुक्रबार