खेल

खेलकुद मन्त्री श्रेष्ठले गरे दशौं राष्ट्रिय खेलकुद तयारीको निरीक्षण

युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले आज कर्णालीको सुर्खेतमा दशौं राष्ट्रिय खेलकुदको लागि तयार भैरहेको भौतिक संरचनाको निरीक्षण गरेका छन।

उद्घाटन र समापन हुने प्रमुख रङ्गशाला, पौडी पोखरी, नव निर्मित कभर्ड हल, ब्यान्ड मिन्टन हल लगायतका संरचनाको निरीक्षणसँगै प्रगति विवरणको बारेमा जानकारी लिए।

कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वमित्र सञ्जायलले पुर्वाधारको अवस्थाको बारेमा विस्तृत रूपमा जानकारी गराए। रङ्गशालाको ८० प्रतिशत काम सम्पन्न भैसकेको र असारभित्र सेन्थेटिक ट्रयाक बाहेक सबै काम सम्पन्न हुने जानकारी गराए।

बनिरहेका अन्य संरचनाहरू पनि समयमा नै बनिसक्ने सञ्जालले बताए। रङ्गशाला लगायत क्रिकेट मैदान, बहुउद्देश्यीय कभर्ड हल, भलिबल कोर्ट, बास्केटबल कोर्ट, रग्बी मैदान, फुटबल मैदान, ह्यान्डबल, स्कावास कोर्ट, पौडी पोखरी जस्ता करिब एक दर्जन नयँ खेलकुद संरचना अहिले निर्माण भैरहेको छ।

निरीक्षण पश्चात  युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले तोकिएकै समयमा दशौं आयोजना हुने बताए। यसको लागि सबैलाई जुटेर यो अवसरलाई पर्वको रूपमा मनाउन सबैलाई आग्रह गरे। विशेषगरी आवास नै प्रमुख चुनौती हुन सक्ने भन्दै यसमा योजना बनाएर नै काम गर्नुपर्नेमा जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको लगानी तथा प्रदेश खेलकुद परिषद्को सक्रियता प्रति धन्यवाद दिदै मन्त्री श्रेष्ठले तोकिएकै समयमा आयोजना गर्नका लागि मन्त्रालयको काम प्रक्रिया अघि बढाइसकेको पनि जिकिर गरे।

सोही अवसरमा कर्णाली प्रदेश खेलकुद विकास परिषदले संभावित खेल हुने स्थानको बारेमा पनी जानकारी गराएको छ।  विभिन्न नौ जिल्लामा ३० खेल खेलाउन तयार रहेको र ६ खेल खेलाउन नसक्ने कर्णाली प्रदेश खेलकुद विकास परिषदले जानकारी गराएको छ।

नवौंमा समावेश ३६ खेल मध्ये लन टेनिस, सुटिङ, जिम्नास्टीक, सफ्ट टेनिस, ट्रायथलन र गल्फको कुनै पनि पुर्वाधारबकर्णालीमा नभएकोले यी खेल कर्णालीमा हुन नसक्ने परिषदले जानकारी गराएको छ।

निरीक्षण पश्चात मन्त्री श्रेष्ठले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल, सामाजिक विकास मन्त्री वीर बहादुर शाही, नगर प्रमुख मोहन माया ढकालसँग छलछलफल गरेका छन। यसैगरी आजै सुर्खेत उद्योग वाणिज्य संघसँग पनि छलफल गरिएको छ।

प्रकाशित: २८ जेष्ठ २०८१ १३:१९ सोमबार

#10th National Games #Biraj Bhakta Shrestha