खेल

फूलबारी क्रिकेट क्लबसँग एलिट पराजित

प्रथम कोसी प्रदेश दिवारात्रिकालीन टी- १० क्रिकेट प्रतियोगितामा विराटनगरको फूलबारी क्रिकेट क्लबसँग एलिट क्रिकेट क्लब पराजित भएको छ।

विराटनगर- ६ स्थित एमबिजे क्रिकेट मैदानमा मंगलबारको दोस्रो खेलमा एलिट क्रिकेट क्बललाई १० विकेटले हराउँदै फूलबारी विजयी भएको हो। जितसँगै फूलबारीले २ अंक जोडेको छ। एलिटले दिएको ९९ रनको लक्ष्य फूलबारीले ५.५ ओभरमा बिनाक्षति पूरा गर्‍यो।

फूलबारीका ओपनर आलोक मञ्जयले अविजित १५ बलमा ४८ रन बनाए। उनले ७ छक्का र १ चौका प्रहार गरे। उनी खेलको प्लेर अफ द म्याच घोषित भए। खण्डक बोहराले २० बलमा ४८ रनको योगदान दिए। उनले ४ छक्का र ५ चौका हिर्काए।

त्यसअघि पहिलो ब्याटिङ थालेको एलिटले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ९८ रन बनाएको थियो। अंकित गोस्वामीले १६ बलमा ३६ रन बनाए।

सुशान्त मिश्रले १४ बलमा २४ रनको पारी खेल्दा अभिषेक पलले १३ बलमा २० रन जोडे। फूलबारीका बलर भुवन कार्की, दीपक राज र एमडी कैफले समान १-१ विकेट लिए।

प्रकाशित: १६ जेष्ठ २०८१ ०८:४९ बुधबार

Phulbari Cricket Club Viratnagar Elite Cricket Club First Kosi State Day Night T-10 Cricket Competition