खेल

शीर्षस्थानमा फर्कियो बागमती

क्याप्शन

खेल सकिन केही सेकेन्ड बाँकी रहँदा राज भुसालले गोल गरेसँगै बागमती युथ क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको अंकतालिकाको शीर्षस्थानमा फर्किएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा सर्लाहीदेखि लिग खेल्न काठमाडौं झरेको बागमतीले समाज कल्याण खेलकुद केन्द्रलाई २-१ गोलले पराजित गरेको हो।

जितसँगै बागमतीले १० खेलमा २३ अंक जोडेको छ। समान खेलबाट २२ अंक जोडेको आरसी ३२ ले बागमतीलाई पछ्याइरहेको छ। पराजित समाज कल्याण समान खेलबाट १६ अंकका साथ चौथो स्थानमा छ। बागमतीको जितमा सिर्जनराज गौतम र राज भुसालले गोल गरे। समाज कल्याणका रोशन क्षेत्रीले गोल फर्काए।

खेलको तेस्रो मिनेटमै सिर्जनको गोलबाट बागमतीले शुरूआती लिएको थियो। राजले मैदानको मध्य भागबाट दिएको पासलाई डी बक्सको बायाँ भागमा नियन्त्रण लिँदै निकै सुन्दर गोल गरे।

तर, खेलको ३४औं मिनेटमा समाज कल्याण खेलमा फर्कियो। डिकेश लामाले दिएको क्रस बललाई निराज परियारले चेस्टिङ गर्दै नियन्त्रणमा लिएका थिए। त्यही बलमा मिलाइदिएको पासलाई रोशनले गोलमा परिणत गरे।

६७औं मिनेटमा बागमती १० खेलाडीमा समेटियो। बागमतीका डिफेन्स आयुष राना दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदानबाट बाहिरिए। उनले समाज कल्याणका समीर गुरुङ फाउल गरेपछि रेफ्री सुमन श्रेष्ठले पहेँलो कार्ड देखाए।

७५औं मिनेटमा पेनाल्टी एरियामा प्राप्त सुनौलो अवसलाई रोशनले सदुपयोग गर्न सकेनन्। अतिरिक्त समयको आठौँ मिनेटमा बागमतीका राजले गोल गरे।

उनले सचु गुरुङले मध्यभागबाट फ्रिकिकमार्फत प्रहार गरेको बललाई गोल लाइननजिक रहेका राजले गोलमा परिणत गरे। योसँगै बागमतीले ३ अंक हात पार्‍यो।

अर्को खेलमा सामाजिक युथ क्लब र महावीर क्लब १-१ गोलको बराबरीमा रोकिए। खेलको ३८औं मिनेटमा सुवास गोलेले गोल गर्दै सामाजिकलाई सुरूआती अग्रता दिलाए।

तर ७८औं मिनेटमा अमनराज भक्तले गर्दै महावीरलाई १ अंक दिलाए। बराबरीसँगै १० खेल खेलेको सामाजिक १३ अंकसहित आठौं स्थानमा छ। महावीर भने १० अंकका साथ ११औं स्थानमा छ।

प्रकाशित: १६ जेष्ठ २०८१ ०८:२१ बुधबार

Bagmati Youth Club Saheed Memorial 'C' Division League Points Table Top Position