खेल

गणतन्त्र दिवसमा भक्तपुरमा बुद्धिचाल

भक्तपुरमा नेपाल इको प्यानल गोपाल खागी स्मृति फिडे रेटिङ ब्रिट्ज चेस प्रतियोगिता हुने भएको छ। गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते भक्तपुरको देकोचा चाँगुनारायण जाने बस स्टप चोकको भवनमा प्रतियोगिता हुने भएको हो।

प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्नका लागि चेसका भेट्रान्स गणेशमान दुवालको संयोजकत्वमा प्रतियोगिता आयोजक समिति गठन गरिएको छ। प्रतियोगिताका प्रमुख निर्णायक ज्ञानेन्द्र खाइजूका अनुसार प्रतियोगितामा देशविदेशका जसले पनि सहभागिता जनाउन सक्ने छ।

प्रतियोगितामा सहभागी हुन जेठ १३ गतेसम्म अन्तिम नाम दर्ता गर्ने समय राखेको र ८० खेलाडी पुगेपछि सहभागिता दर्ता बन्द गर्ने योजना उनले सुनाए। प्रतियोगिता स्विस लिगका आधारमा नौ चरणमा खेलाइने उनले जानकारी गराए।

प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार, दोस्रोलाई चार हजार, तेस्रोलाई तीन हजार नगद पुरस्कार पनि व्यवस्था गरिएको छ।

साथै यी तीनसहित कुल १९ जना विभिन्न समूहलाई गरी कुल ३० हजार नगदबराबरको पुरस्कार वितरण गरिने जनाइयो प्रतियोगिताको प्रायोजक नेपाल इको प्यानलले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतियोगिता सञ्चालन गरेको जनाएको छ।

प्रकाशित: १२ जेष्ठ २०८१ ०९:११ शनिबार

Nepal Eco Panel Gopal Khagi Smriti FIDE Rating Britz Chess Competition Republic Day