खेल

टेबल टेनिस टोली श्रीलंका जाँदै

दक्षिण एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शनिबार श्रीलंकाको क्यान्डी प्रस्थान गर्दै छ।

जेठ १३ देखि १६ गतेसम्म हुने प्रतियोगितामा नेपालले यु- १९ र यु- १५ उमेरसमूहमा चुनौती प्रस्तुत गर्नेछ। यु- १९ को ब्वाइजमा प्रिन्स थापा मगर, सिद्धार्थ तामाङ र एसियाली खेलकुदको अनुभव बटुलिसकेका रुविन महर्जन तथा गल्र्समा वियंका राई, इभाना थापा मगर र योङ्गी पौडेलले प्रतिस्पर्धा गर्नेछन्।

यु- १५ को ब्वाइजमा जयस्नु महर्जन, रिजन शाक्य र सुविन क्षत्री तथा गल्र्समा शुभश्री श्रेष्ठ, सुरम्य शाक्य र महिमा महताले खेल्नेछन्। प्रशिक्षकमा सञ्जीव ढुंगेल तथा व्यवस्थापकमा सिक्का सुवाल श्रेष्ठ छन्।

एटिटियु कम्पिटिसन म्यानेजर तेजेन्द्रसिंह महरा पनि सो प्रतियोगिताका लागि श्रीलंका जाँदै छन्। उनी शुक्रबारै प्रस्थान गरेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले बिदाइ गरेका थिए।

‘टेबल टेनिसमा स्यान्टु श्रेष्ठले ओलम्पिकमा छनोट भएर इतिहास रच्नुभएको छ। अबको नयाँ अनुहार तपाईंहरूमध्येबाट हुन सक्छ। तपाईंहरू भविष्य मात्र होइन, वर्तमान पनि हो,’ उनले भने, ‘मनभित्रदेखि राष्ट्रलाई सम्झेर उत्कृष्ट प्रदर्शन गर्नुस्। अल दी बेस्ट।’

प्रकाशित: १२ जेष्ठ २०८१ ०७:३८ शनिबार

South Asian Youth Table Tennis Championship 15-member Nepali team departs Kandy for Sri Lanka