खेल

बलियो राजस्थानमाथि दिल्लीको जित, प्ले अफमा पुग्ने सम्भावना कायमै

इन्डिय प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले जित हात पारेको छ।

दिल्लीस्थित अरुण जेटली स्टेडियममा गयराति सम्पन्न खेलमा जारी सिजनको बलियो टिम राजस्थान रोयल्सलाई २० रनले हराउँदै दिल्लीले जित हात पारेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर २२१ रन बनायो। २२२ रनको लक्ष्यसहित मैदान उत्रेको राजस्थानले निर्धारित ओभरमा ८ विकेट गुमाएर २०१ रन मात्रै बनाउन सक्यो।

दिल्लीका लागि अभिशेक पोरेलले सर्वाधिक ६५ रन बनाए भने अक्षर पटेलले ५० र ट्रिस्टन स्टब्सले ४१ रनको पारी खेले।

राजस्थानका लागि रवीचन्द्रन अश्विनले सर्वाधिक ३ विकेट लिँदा युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट र सन्दीप शर्माले समान १/१ विकेट हात पारे।

एता २२२ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि कप्तान सञ्जु सैमसनले सर्वाधिक ८६ रनको पारी खेले जुन जितका लागि काम लागेन।

राजस्थानलाई जितबाट रोक्नका लागि दिल्लीका खलिल अहमद, मुकेश कुमार र कुलदीप यादवले समान २/२ विकेट लिँदा रशिक सलाम र अक्षर पटेलले समान १/१ विकेट हात पारे।

जितसँगै दिल्लीले प्ले अफमा पुग्ने आफ्नो सम्भावनालाई थप बलियो बनाएको छ। १२ खेलमध्ये ६ मा जित हात पार्दै दिल्ली अङ्क तालिकाको पाँचौ स्थानमा उक्लेको छ भने पराजित राजस्थान दोस्रो स्थानमा यथावत रहेको छ।

प्रकाशित: २६ वैशाख २०८१ ०६:१४ बुधबार

#ipl - indian premier league #Rajasthan_Royals #Delhi_Capitals #Rishabh_Panta #Sanju_Samson