खेल

मूलपानी रंगशालाको डिपिआर प्रस्तुत

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालयसमक्ष सोमबार विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) प्रस्तुत गरेको छ।

पुलचोक इन्जिनियरिङ कल्सल्टेन्सीले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई बुझाएको डिपिआर सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको हो। करिब १ वर्षअघि राखेपको आयोजनामा भएको खेलकुद पूर्वाधार नीति संवादका दौरान मूलपानी क्रिकेट रंगशाला विगतकै प्रक्रियामा बजेट विनियोजन हुने हो भने निर्माण कार्य २७ वर्षमा मात्र पूरा हुने सहभागीहरूको प्रतिक्रिया थियो। उक्त कार्यक्रम राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा भएको थियो।

कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहालले रंगशाला निर्माणको कार्यलाई चासो व्यक्त गर्दै सदस्यसचिव घिसिङलाई वर्तमान संसद्कै कार्यकालमा काम सम्पन्न गर्ने गरी अगाडि बढ्न निर्देशन दिए। मूलपानी क्रिकेट रंगशालालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेत समावेश गरिसकेको छ। सदस्यसचिव घिसिङले सो निर्देशनको तत्काल कार्यान्वयन गर्ने क्रममा पुलचोक इन्जिनियरिङ कल्सल्टेन्सीलाई डिपिआर तयार गर्ने जिम्मेवारी दिएका थिए।

डिपिआरको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम एक साताभित्र सम्पन्न गर्न सदस्यसचिव घिसिङले पुल्चोक इन्जिनियरिङ कल्सल्टेन्सीलाई निर्देशन दिएका छन्। डिपिआर प्रस्तुतिका क्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र सचिव सुमनराज अर्यालले राखेपको कामको प्रगतिको प्रशंसा गर्दै मूलपानी क्रिकेट रंगशाला निर्माणलाई पहिलो प्राथमिकतामा राखी काम अगाडि बढ्ने बताए।

प्रकाशित: २५ वैशाख २०८१ ०८:३१ मंगलबार

राष्ट्रिय खेलकुद परिषद् मूलपानी क्रिकेट रंगशाला युवा तथा खेलकुद मन्त्रालय विस्तृत परियोजना प्रतिवेदन