खेल

पुलिस र आर्मीलाई कबड्डी लिग उपाधि

विजेता नेपाल पुलिसको महिला टोली ट्रफीका साथ । तस्बिर: राखेप

विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले शुक्रबार कबड्डी सुपर लिग प्रतियोगिताको उपाधि जितेका छन्।

नेपाल कबड्डी संघको आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगितामा पुलिसले महिला र आर्मीले पुरुषतर्फ कबड्डी सुपर लिगको उपाधि जितेका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ४०–२८ को फराकिलो अन्तरले हरायो।

पहिलो हाफमा पुलिसले १९ र एपिएफले १५ स्कोर गरे। यस क्रममा पुलिसले एक र एपिएफले दुई बोनस पोइन्ट पाए। पुलिसले चार स्कोरको अग्रतासहित दोस्रो हाफ सुरु गर्‍यो। दोस्रो हाफमा पनि पुलिस नै हाबी भयो।

यो हाफमा पुलिसले २१ स्कोर बनाउँदा एपिएफले १३ स्कोर मात्र बटुल्यो। दोस्रो हाफमा भने पुलिसले तीन र एपिएफले दुई बोनस पोइन्ट प्राप्त गरे। पुलिसलाई उपाधि दिलाउन मानमती विष्टले उत्कृष्ट प्रदर्शन गरिन्। मानमती उत्कृष्ट खेलाडी पनि घोषित भइन्।

उनी गत १९औं एसियाली खेलकुदमा नेपालको महिला कबड्डी टोलीले कांस्य पदक जित्दाकी सदस्यसमेत हुन्। उपत्यका टोली तेस्रो स्थानमा रह्यो। पुरुषमा पनि एपिएफ उपाधि जित्न असफल रह्यो। एपिएफ फाइनलमा विभागीय प्रतिद्वन्द्वी आर्मीसँग ३४–२४ को अन्तरले पराजित भयो।

आर्मीले पहिलो हाफमा १६ स्कोर गरेसँगै एपिएफविरुद्ध स्कोरको अग्रता लियो। दोस्रो हाफमा पनि ६ स्कोरको अग्रता लिँदै आर्मी च्याम्पियन भयो। यो हाफमा आर्मीले १८ र एपिएफले १२ स्कोर गरे। एपिएफ र आर्मीले समान दुई बोनस पोइन्ट पाएका थिए। पुलिस भने तेस्रो भयो।

महिलाको विजेता पुलिस र पुरुषमा विजेता आर्मीले समान २५ हजार रूपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गरे। तेस्रो स्थानका टोलीले ११ हजार रूपैयाँ नगद पुरस्कार पाए। एपिएफको महिला र पुरुष दुवै टोलीले १५ हजार रूपैयाँ नगद पुरस्कार चित्त बुझाउनुप¥यो। तीनदिने प्रतियोगितामा बुधबारदेखि सुरु भएको थियो।

पुरुषमा आर्मीका प्रदीप मिजार र महिलामा मानमती उत्कृष्ट खेलाडी घोषित भए। दुवैले ट्रफी पाए। महिलामा पुलिस, एपिएफ र उपत्यकाले प्रतिस्पर्धा गरेका थिए। पुरुषमा आर्मी, एपिएफ, नेपाल पुलिस र उपत्यका एकअर्काका प्रतिद्वन्द्वी रहे।

पुरुष र महिला दुवैमा लिगका शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गरेका हुन्। प्रतियोगिताका विजेतालाई विजेतालाई राखेपका सदस्यसचिव टंकलाल घिसिङ, कबड्डी संघकी अध्यक्ष तुल्सी थापा र संघका महासचिव अरविन्दकुमार झाले पुरस्कृत गरेका थिए।

 नेपालमा पहिलोपटक सुरु हुन लागेको नेपाल कबड्डी लिगको पूर्वसन्ध्यामा यो प्रतियोगिता आयोजना भएको हो।

प्रकाशित: २६ फाल्गुन २०८० ०६:३३ शनिबार

कबड्डी सुपर लिग प्रतियोगिता विभागीय टोली नेपाल पुलिस आर्मी क्लब नेपाल कबड्डी संघ