खेल

नेपाली युवा टोलीको सहज जित

समीर तामाङको दुई गोल प्रेरणामा नेपालको यु–२३ टोलीले चीनको छिङ हाई युसुको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलमा ५–१ को जित निकाल्यो। चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा शनिबार नेपाली युवा टोलीले शनिबार पाहुना टोलीमाथि सहज जित निकालेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालका लागि छिरिङ लामा, सञ्जीव विष्ट र नीराजन धामीले समान एक गोल थपे। चिनियाँ टोलीका जासी पेङकोउले सान्त्वना गोल फर्काए। सञ्जीव विष्टले दोस्रो मिनेटमा नै गोल गर्दै नेपाली युवा टोलीलाई अग्रता दिलाए। ३९औं मिनेटमा समीरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। त्यससँगै पहिलो हाफमा नेपाली युवा टोलीले २–० को अग्रता बनायो।

समीरले नै ५४औं मिनेटमा गोल गर्दै नेपाली युवा टोलीको अग्रता ३–० मा पुर्‍याए। ६३औं मिनेटमा छिरिङ लामाले अर्को गोल गरे। त्यससँगै नेपाली युवा टोलीले अग्रता ४–० मा पुर्‍यायो।

७५औं मिनेटमा नीराजनले गोल गर्दै घरेलु टोलीलाई ५–० को सहज जितको अवस्थामा पुर्‍याए। पाहुना टोलीका पेङकोउले ७८औं मिनेटमा गोल फर्काउँदै अग्रता छोट्याए। त्यसपछि थप गोल हुन सकेन र नेपाली युवा टोलीले सहज जित निकाल्यो।

विजेतालाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरे।

प्रकाशित: २८ माघ २०८० ०६:५५ आइतबार

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला नेपाली युवा टोलीको सहज जित