खेल

‘ग्लेन म्याक्सवेल’को बाटोमा अर्जुन कुमाल!

अस्ट्रेलियन क्रिकेट स्टार ग्लेन म्याक्सवेललाई हारको सँघारमा  पुगेको टोलीलाई जितको बाटोमा डोराउन सक्ने खेलाडीको रूपमा लिइन्छ। केही समय अगाडी अफगानिस्तान विरुद्धको खेलमा १२८ बलमा २ सय १ नट आउटको स्कोरलाई  त कतिपयले क्रिकेट इतिहासकै उत्कृष्ट इनिङ मानेका छन्। त्यसैले ‘हारेको बाजी जित्नेलाई म्याक्सवेल भनिन्छ’ भन्ने कथन स्थापित भइसकेको छ।

नेपालका क्रिकेट स्टार अर्जुन कुमालले आइतबार न्यूजिल्याण्ड विरुद्ध खेलको खेललाई कतिपयले ग्लेन म्यास्वेलको खेलसँग  तुलना गर्न भ्याए। ३५ वर्षीय म्याक्स्वेलभन्दा झन्डै आधा उमेरका अर्जुनले हार्दे गरेको खेल जिताउन त सकेनन् तर उनले पनि नेपाली मनमा क्रिकेटको सुन्दर भविष्य भने देखाउन  सफल भए।

‘उनी क्रिजमा रहुन्जेल हारिसकेको खेलमा पनि जितको झल्को देख्न पायौँ,’ न्यूजील्याण्ड विरुद्ध १८ वर्षीय अर्जुनको ९० रनको पारी हेरेपछि रमेश बराल सामाजिक सञ्जालमा लेख्छन्, ‘उनी नेपाली क्रिकेटका ‘म्याक्सवेल’ हुन्।’

त्यसो त युवा ब्याट्सम्यान अर्जुन कुमालको उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल आइसिसी यु–१९ विश्वकपमा पहिलो पटक न्युजिल्यान्डसँग पराजित भएको छ।  ओपनर अर्जुन कुमालले १०४ बलमा १२ चौकासहित ९० रनको शानदार इनिङ्स खेले पनि टोलीको हार टार्न भने सकेनन्।

३५ वर्षीय म्याक्स्वेलभन्दा झन्डै आधा उमेरका अर्जुनले हार्दे गरेको खेल जिताउन त सकेनन् तर नेपाली मनमा क्रिकेटको सुन्दर भविष्य देखाउन भने सफल भए।

क्रिकेटमा हारजित सामान्य हो। यस पटक हारले पनि नयाँ आशा देखाएर गएको कतिपयले टिप्पणी गरेका छन्। कतिपयले उनलाई  अव नेपाली क्रिकेटको भविष्य अर्जुनको हातमा रहेको टिप्पणी समेत गरे। ‘उनी क्रिकेटको सारथि बन्ने बाटोमा छन्,’  पूर्ण श्रेष्ठ भन्छन्, ‘उनको खेल्ने शैलीले नेपाली क्रिकेटको आकाश फराकिलो भएको देखाउँछ।’

विराट लक्ष्यका बावजुदपनि अर्जुनको विजयी दृष्टि कायमै  रहेको थियो। ३०३ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३८ रन बनाउन सक्यो। तर अन्य ब्याटरको साथ नपाउँदा अर्जुनको उत्कृष्ट ब्याटिङका बाबजुद नेपालले यो खेल जित्न सकेन।

तर अर्जुनका अगाडी थुप्रै निशानाहरू  अझै बाँकी छन्। त्यसैले होला ३ वर्ष अगाडी नेपाली प्रशिक्षक डेभ वाट्मोरले अर्जुनलाई  नेपाली क्रिकेटका भविष्य भनेका थिए।  बाट्मोरले देखेको भविष्य अहिले आफ्नो लयमा चम्केको छ। उनको ब्याटिङ शैलीको धेरैले तारिफ गरेका छन्।

उनको यही शैलीका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले यु-१९ विश्वकपमा नेपालका चार खेलाडीलाई ‘प्लेयर टु वाच’मा राख्दा उनी पनि परेका छन्।

गुल्मी क्षत्रकोटका मेघबहादुर कुमालका छोरा हुन् अर्जुन। उनी सानैदेखि क्रिकेटमा रुचि राख्ने गर्थे। भारतीय क्रिकेट स्टार सचिनका फ्यान रहेका मेघबहादुरले छोरालाई क्रिकेटर बनाउने तीव्र चाहना राखेका थिए। उनले सुरुमा आफैले काठको ब्याट बनाएर खेल्न लगाए।

तिनै अर्जुन अहिले नेपाली क्रिकेटको भविष्य बनेका छन्। अर्जुन भारतीय खेलाडी विराट कोहली र न्यूजिल्याण्डका केन विलियम्सका फ्यान हुन्। उनले कोहलीबाट आक्रामकता र केनबाट रक्षात्मकता सिक्ने गरेको बताएका छन्।

‘आक्रामकता र रक्षात्मकताको यही फ्युजनबाट एक दिन अर्जुन नेपाली क्रिकेटको सारथि बन्ने निश्चित  छ,’ विनोद अर्याल भन्छन्, ‘धैर्यताका साथ क्रिजमा टिकेर उनले गरेका आकर्षक ब्याटिङ निकै  लोभलाग्दो छ।’

उनको लोभलाग्दो ब्याटिङ यो पहिलो होइन। गत वर्ष फेब्रुअरीमा युएईमा आयोजना भएको आइसिसी यु-१९ विश्वकप एसिया क्षेत्र छनोटबाट यु१९ राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले पाँच इनिङ्समा १८५ रन बनाए। जसमा कुवेतविरुद्ध ११२ बलमा १२ चौकासहित १०८ रनको शतकीय इनिङ्स पनि थियो।

त्यस्तै गत अक्टोबरमा मलेसियामा आयोजना भएको यु१९ एसीसी प्रिमियर कपको उपाधि जिताउँदा पनि उनले नेपालका लागि महत्त्वपूर्ण इनिङ्स खेले। साउदी अरबविरुद्धको खेलमा १११ बलमा १७ चौका र २ छक्कासहित १४३ रन प्रहार धेरैले भुलेका छैनन्। किनकि यो कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा एकै इनिङ्समा सर्वाधिक रन बनाउने नेपाली खेलाडीको कीर्तिमान हो।

त्यस्तै एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउन ५५ रनको अर्धशतकीय इनिङ्स खेले। अफगानिस्तानविरुद्ध भने उनी शतक बनाउन चुके। त्यति बेला उनले १०८ बलमा १३ चौकासहित ९१ रनको इनिङ्स खेलेका थिए।

अर्जुनको विगतका खेलसमेत नियालेका कतिपयले उनलाई  क्रिकेटको उदाउँदो तारा समेत भनेका छन्।

‘अर्जुनले ओपनर ब्याट्सम्यान पूर्ण जिम्मेवारी पूरा गरेको हुन,  भविष्यको उदाउँदो चम्किलो तारा गुल्मेली ठिटो अर्जुन भाइलाई हार्दिक बधाई छ’, सामाजिक सञ्जालमा पूर्णविक्रम सेन लेख्छन्, ‘९० रन झिनो मसिनो कुरा हैन ऊनले यस अघि  एसिया यु १९  खेलमा पनि अफगानिस्तान विरुद्ध ९२ रन हानेको थिए’।

प्रकाशित: ८ माघ २०८० ०५:४१ सोमबार

अर्जुन कुमाल ग्लेन म्याक्सवेल अफगानिस्तान न्यूजिल्याण्ड क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसी यु-१९ विश्वकप