खेल

आइसीसी १९ वर्ष मुनिको विश्वकप आजबाट, नेपालको पहिलो प्रतिस्पर्धी न्यूजिल्यान्ड

आइसीसी १९ वर्ष मुनिको पुरुष विश्वकप क्रिकेट २०२४ आजबाट सुरु हुँदैछ। दक्षिण अफ्रिकाको विभिन्न मैदानमा हुने विश्वकप क्रिकेटमा नेपालसहित १६ टोलीले सहभागीता जनाउँदै छ।

आजबाट सुरु हुने खेलको अन्तिम उपाधि खेल ११ फेब्रुअरीका दिन खेलिने छ।

आज हुने पहिलो खेलमा समूह ‘ए’ मा रहेको अमेरिका र आयरल्यान्डबीच खेल हुनेछ भने आजै हुने अर्को खेलमा दक्षिण अफ्रिका र वेस्टइन्डिजबीच खेल हुनेछ।

समूह ‘ए’ मा बङ्गलादेश, भारत, आयरल्यान्ड, अमेरिका रहेका छन् भने समूह ‘बी’ मा इङ्ग्ल्यान्ड, स्कटल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज रहेका छन्। यस्तै समूह ‘सी’ मा अस्ट्रेलिया, नामीबिया, श्रीलङ्का र जिम्बावे छन् भने समूह ‘डी’ मा अफगानिस्तान, नेपाल, न्यूजिल्यान्ड र पाकिस्तान रहेका छन्।

समूह ‘डी’ मा रहेको नेपालले आफ्नो पहिलो खेल २१ जनवरीका दिन खेल्ने छ। आइतवार हुने खेलमा नेपालले न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र नामिबियाबीचको खेल बुफेलो पार्कमा हुनेछ।

देव खनालको कप्तानीमा रहेको नेपाली टोलीले ३ खेल खेल्ने छ।

हालसम्म १९ वर्ष मुनिको पुरुष विश्वकप क्रिकेटको सबैभन्दा धेरै उपाधि भारतले जितेको छ। भारतले ५ पटक उपाधि जित्दा अस्ट्रेलियाले ३ पटक उपाधि उचालेको छ। पाकिस्तानले २, बङ्गलादेश, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङ्ग्ल्यान्डले समान एक एक पटक उपाधि जितेको छ।

प्रकाशित: ५ माघ २०८० ०४:११ शुक्रबार

आइसीसी १९ वर्ष मुनि पुरुष विश्वकप क्रिकेट दक्षिण अफ्रिका अमेरिका नेपाल