खेल

राष्ट्रिय भलिबल प्रतियोगिता: सेमिफाइनल समीकरण पूरा

वीरेन्द्रनगरमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा साबिक विजेता सशस्त्र प्रहरीको एपिएफ क्लब गण्डकी प्रदेशसँग भिड्नेछ भने नेपाल‌ पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मीको‌ सामना गर्नेछ।

मंगलबार गण्डकी प्रदेशले लिग चरणको अन्तिम खेलमा घरेलु टोली कर्णाली प्रदेशलाई हराउँदै सेमिफाइनल प्रवेश गर्‍यो। कर्णालीलाई ३-० ले हराएको गण्डकी समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

लिग चरणमा तेस्रो जित दर्ता गर्ने क्रममा गण्डकीले कर्णालीलाई २५-२१, २५-२१ र २५-२१ ले नै हरायो। गण्डकीले कर्णालीविरुद्धको खेलमा मुख्य खेलाडीलाई आराम दिएको‌ थियो। गण्डकीले ४ मध्ये ३ खेल‌ जित्दै ९ अंक जोड्यो भने अपराजित समूह ‘बी’ को विजेता त्रिभुवन आर्मी क्लबले १२ अंक बटुल्यो।

बुधबार बिहान साढे १० बजे हुने पहिलो सेमिफाइनलमा गण्डकीले समूह ‘ए’ को विजेता एपिएफको‌ सामना गर्नेछ।

अर्काे खेलमा नेपाल‌ पुलिस क्लब कोसी प्रदेशलाई पराजित गर्दै सेमिफाइनल पुगेको छ। कोसीलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस क्लब समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। लिग चरणको तेस्रो खेल जित्ने क्रममा पुलिसले कोसीलाई २५-१५, २५-१९ र २५-११ ले हराएको थियो। कोसी यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो। पुलिसले साबिक विजेता एपिएफसँगको खेल गुमाएको थियो।

एपिएफ र आर्मी आआफ्ना समूहको विजेता बन्दै सेमिफाइनल प्रवेश गरेका छन्। समूह ‘ए’ को एपिएफले बाग्मती प्रदेशलाई‌ र समूह ‘बी’ को आर्मीले मधेसलाई समान ३-० ले हराउँदै आफ्नो समूहका विजेता बने। एपिएफले बाग्मतीलाई २५-७, २५-१८ र २५-१३ ले हरायो भने आर्मीले मधेसलाई २५-२०, २५-१९ र २५-१४ ले पराजित गर्‍यो। एपिएफ र आर्मी दुवै टोलीले आफ्ना पहिलो रोजाइका खेलाडीलाई‌ आराम दिएका थिए। लिगका सबै ४ खेल हार्नेमा बाग्मती एक्लो टोली रह्यो।

पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको‌ सामना गर्नेछ। प्रतियोगिताका‌ अपराजित यी दुई टोली सोमबार नै सेमिफाइनल पुगिसकेका थिए। बुधबार हुने सेमिफाइनल र बिहीबार हुने फाइनल खेल हेर्नका लागि टिकटको व्यवस्था गरिएको छ।

प्रकाशित: २५ पुस २०८० ०३:०२ बुधबार

एपिएफ क्लब ‘वीरेन्द्रनगर चक्रपथ’ ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सेमिफाइनल समीकरण सशस्त्र प्रहरी नेपाल‌ पुलिस क्लब त्रिभुवन आर्मी