खेल

सैनिकलाई राष्ट्रपति रनिङ सिल्ड

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड सैनिक मावि भक्तपुरले जितेको छ। सैनिक मावि २३ स्वर्ण जित्दै प्रथम भएको हो। तीनदिने प्रतियोगिताको शुक्रबारसम्म भएको अन्तिम खेलमा जेसिस स्कुल इन्द्रायणीपीठ ९ स्वर्णका साथ द्वितीय, मेधा मावि तेखापुखू ८ स्वर्णका साथ तृतीय र बागीश्वरी मावि च्याम्हासिंह ६ स्वर्णसहित सान्त्वना स्थान हासिल गर्न सफल भए।

प्रतियोगिताअन्तर्गत भलिबल खेल छात्रतर्फ सैनिक मावि प्रथम, श्री पद्म मावि द्वितीय र बागीश्वरी मावि तृतीय भए। सोही खेलको छात्रातर्फ सैनिक नै प्रथम, वासु मावि द्वितीय र वागीश्वरी मावि तृतीय भए।

कबड्डीको छात्रतर्फ ख्वप मावि प्रथम, मिनर्वा स्कुल द्वितीय, बागीश्वरी मावि र पारागन स्कुल तृतीय भए। कबड्डी छात्रातर्फ साइनिङ स्कूल प्रथम, पारागन स्कुल द्वितीय, बागीश्वरी र ख्वप मावि तृतीय हुन सफल भए।

सितेरियो कराते प्रतियोगितामा बागीश्वरी मावि प्रथम, ख्वप मावि द्वितीय र जेन्युन स्कुल तृतीय भए। तेक्वान्दोमा सैनिक मावि प्रथम, वागीश्वरी मावि द्वितीय र श्री पद्म मावि तृतीय भए।

भलिबलमा सैनिककी छात्रा सृष्टि कार्की र छात्रतर्फ सैनिककै प्रज्ज्वल भण्डारी उत्कृष्ट खेलाडी बन्न सफल भए। एथ्लेटिक्सको छात्रातर्फ जेसिस स्कुलका जेसिका दुवाल, छात्रतर्फ सैनिकका सुदीप केसी उत्कृष्ट खेलाडी बन्न सफल भए।

समापनको अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले प्रतियोगिताका विजयी र उत्कृष्ट खेलाडीलाई सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे।

प्रकाशित: १४ पुस २०८० ०१:४० शनिबार

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड सैनिक मावि जेसिस स्कुल मेधा मावि बागीश्वरी मावि