खेल

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रकाश माविलाई

बेनीको प्रकाश मावि नगरस्तरीय अन्तर माध्यमिक छात्र–छात्रा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा च्याम्पियन बनेको छ।

बेनी नगरपालिकाद्धारा आयोजित प्रतियोगितामा २२ स्वर्ण, ५ रजत गरी कुल २७ पदक प्राप्त गर्दै प्रकाश मावि च्याम्पियन बनेको हो। ५ स्वर्ण, १० रजत र २ कांस्यसाथ न्यू वेष्ट पोइन्ट आवासीय मावि उपविजेता र माउण्ट एभरेष्ट आवासीय माविले २ स्वर्ण, १ रजत र २ कांस्य सहित तेस्रो भएको छ। 

प्रतियोगितामा विजेता, उपविजेता र तृतीय हुने विद्यालयलाई क्रमशः नगद ५१ हजार, ४० हजार, ३० हजार, रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो।

प्रतियोगितामा मार्शल आर्टतर्फ छात्र/छात्रा तेक्वान्दो, कराते र उशु तथा टिम इभेन्ट तर्फ एथलेटिक्स, कबड्डी र भलिबलमा सर्वोत्कृष्ट खेलाडीलाई ट्रफीले समेत सम्मानित गरिएको थियो।

प्रतियोगिताबाट जिल्ला स्तरीय खेलका लागि छनौट भएका खेलाडीलाई समेत आवश्यक प्रशिक्षणमा समेत नगरपालिकाले सहयोग गर्ने मेयर सुरत केसीले बताए। उनले यस पटकको अनुभवले अबका प्रतियोगिताका लागि विद्यालयलाई समेत बजेट विनियोजन गरी तयारीलाई थप व्यवस्थित बनाउने बताए।

प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २५ वटा विद्यालयले सहभागिता जनाएका थिए।

प्रकाशित: ३० मंसिर २०८० १२:४२ शनिबार