खेल

२०औँ एसियाडका लागि नेपालका १३६ खेलाडी छनोट, २२ खेलमा प्रतिस्पर्धा गर्ने

फाइल तस्बिर

जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) का लागि नेपालबाट २२ खेलमा प्रतिस्पर्धा गर्ने १३६ खेलाडीको नाम टुंगो लागेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीहरूको अन्तिम सूची सार्वजनिक गर्दै नेपालले विभिन्न विधामा सहभागिता जनाउने जनाएको हो।

राखेपका सदस्य–सचिव रामचरित्र मेहताका अनुसार नेपालबाट ५६ महिला र ७९ पुरुषसहित कुल १३६ खेलाडी एसियाडमा सहभागी हुनेछन्। प्रतियोगितामा आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, क्यानो स्लालोम, पुरुष क्रिकेट, साइक्लिङ, डान्स एन्ड स्पोर्ट्स, गल्फ, जुडो, पुरुष तथा महिला कबड्डी, कराते, स्केटबोर्ड, सफ्ट टेनिस, स्क्वास, पौडी, टेबल टेनिस, तेक्वान्दो, टेनिस, महिला भलिबल, कुस्ती र उसु गरी २२ खेलमा नेपाली टोलीले प्रतिस्पर्धा गर्नेछ।

खेलगत रूपमा हेर्दा पुरुष क्रिकेट टोलीमा १५ खेलाडी रहनेछन् भने महिला र पुरुष कबड्डीमा समान १२–१२ खेलाडीले सहभागिता जनाउनेछन्। महिला भलिबल टोलीमा १२ खेलाडी रहनेछन्। त्यसैगरी बक्सिङ, जुडो, कराते, उसु, टेबल टेनिस, पौडी, गल्फ, टेनिसलगायत अन्य खेलका लागि पनि सम्बन्धित विधाअनुसार खेलाडी छनोट गरिएको छ।

एसियाडका लागि २२ खेलमध्ये १९ खेलका म्यानेजर रहनेछन्। डान्स एन्ड स्पोर्ट्स, स्केटबोर्ड, सफ्ट टेनिस र उसुका लागि भने म्यानेजरको कोटा राखिएको छैन। पुरुष क्रिकेट टोलीमा दुई प्रशिक्षक, एक म्यानेजर र दुई प्राविधिक गरी अतिरिक्त प्राविधिक टोलीसमेत रहने व्यवस्था गरिएको छ।

यसैबीच, नेपालले यसपटक इ–स्पोर्ट्समा सहभागिता नजनाउने भएको छ। सदस्य–सचिव मेहताका अनुसार राखेपले पठाएको प्रारम्भिक सूची (लङ लिस्ट) बाट कुनै पनि खेलाडी अन्तिम छनोटमा पर्न नसकेपछि इ–स्पोर्ट्समा नेपालको सहभागिता नहुने निर्णय गरिएको हो।

प्रकाशित: २६ असार २०८३ २०:२६ शुक्रबार