एमेच्योर युवा गल्फर सद्भाव आचार्य सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन मंगलबार तीन स्ट्रोकको अग्रतासहित शीर्ष स्थानमा उक्लिएका छन्।
सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगितामा सद्भावले प्रोफेसनल गल्फर दिनेश प्रजापतिमाथि तीन स्ट्रोकको अग्रता लिएका हुन्। गोकर्ण गल्फ कोर्समा मंगलबार राष्ट्रिय गल्फ टोलीका सदस्यसमेत रहेका सद्भावले चार अन्डर ६८ स्कोर बटुले। त्यससँगै उनी समग्रमा १० अन्डर एक सय ३४ स्कोर कार्ड बटुल्न सफल रहे।
प्रोफेसनल गल्फर दिनेश प्रजापतिले दिनकै उत्कृष्ट प्रदर्शन गरे पनि उनको स्कोर शीर्ष स्थानमा उक्लिन अपर्याप्त बन्यो। उनले सर्वाधिक सात अन्डर ६५ को कार्ड खेले। समग्रमा भने उनी सात अन्डर एक सय ३७ को स्कोर कार्डमा छन्।
शीर्ष स्थानमा उक्लने क्रममा सद्भावले चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन तीन अन्डर ३३ मा सकाए। ब्याक नाइन भने एक अन्डर ३५ मा पूरा गरे। १२औं र १५औं होलमा १/१ सट बचाए। त्यसअघि उनले दशौं र १८औं होलमा बोगी खेपेका थिए।
दिनेशले भने उत्कृष्ट प्रदर्शन गर्ने क्रममा फ्रन्ट नाइन पाँच अन्डर ३१ खेले। उनले पहिलो, तेस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डीको सफलता प्राप्त गरे। यसपछि उनले ११औं, १५औं, १६औं र १७औं होलमा चार बर्डी प्रहार गरे पनि १२औं र १४औं होलमा १/१ सट खेर फाले। ब्याक नाइन भने उनले दुई अन्डर ३४ मा पूरा गरे।
त्यस्तै जयराम श्रेष्ठ र एमेच्योर गल्फ टासी छिरिङ क्रमशः तेस्रो र चौथो स्थानमा छन्। जयरामले समग्रमा पाँच अन्डर एक सय ३९ र टासीले दुई अन्डर एक ४२ स्कोर बटुले। जयरामले दोस्रो दिन तीन अन्डर ६९ स्कोरको प्रदर्शन गरे।
पहिलो दिनमा शीर्ष स्थानमा रहेका टासीले दोस्रो दिन खराब प्रदर्शन गरे पनि चौथो स्थानमा झरेका छन्। उनको पाँच ओभर ७७ को बिर्सनलायक प्रदर्शन रह्यो। यो स्कोरमा उनी प्रोफेसनलतर्फ सबैभन्दा अगाडि छन्। जयरामले पहिलो, तेस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन पाँच अन्डर ३१ मा फ्रन्ट नाइन सकाउँदै सानदार सुरुआत गरे।
तर, यो लयलाई ब्याक नाइनमा निरन्तरता दिन सकेनन्। ११औं र १६औं होलमा बर्डी प्रहार गरे पनि १३औं र १७औं होलमा बोगी र १४औं होलमा डबल बोगीको सामना गरे। उनले ब्याक नाइन २–ओभर ३८ मा सकाए। प्रोफेसनल गल्फर धनबहादुर थापा कुल एक अन्डर एक सय ४३ स्कोरसहित पाँचौं स्थानमा छन्।
मंगलबार धनबहादुर तीन अन्डर ६९ को स्कोर कार्डमा रहे। दोस्रो दिन इभन पारमा खेलेका भुवन नगरकोटी छैटौं स्थानमा छन्। उपाधिको दाबेदारका रूपमा समेत हेरिएका भुवन दोस्रो दिन एक अन्डर ७२ मा रहे। सञ्जय लामा र नीरज तामाङ संयुक्त रूपमा साँतौं स्थानमा छन्।
दुवै एक ओभर १४५ को स्कोरमा छन्। दोस्रो दिन नीरजले तीन अन्डर ६९ र सञ्जयले चार ओभर ७६ को प्रदर्शन गरे। कुमार कामी र प्रदीपकुमार लामाले नवौं स्थान ओगेटेका छन्। दुवै समग्रमा दुई ओभर १४६ मा रहे। कुमारले एक अन्डर ७१ र प्रदीपले दुई ओभर ७४ मा दोस्रो दिनको खेल सकाए।
१४ ओभर १५८ सम्म स्कोर गरेका २१ प्रोफेसनल गल्फर रमेश अधिकारी, रवि खड्का, बलभद्र राई, तोरणविक्रम शाही, भुवनकुमार रोक्का, सुनील केसी, दीपक मगर, रामे मगर, शिवराज पौडेल, पशुपति शर्मा, भूबहादुर गुरुङ, दलबहादुर लामा र टासी घलेले कट बचाए।
अन्य तीन एमेच्योर गल्फर युवराज भुजेल, अमित बोगटी र उदिम राईले पनि अन्तिम १८ होलको प्रतिस्पर्धाका लागि स्थान बनाएका छन्। कुल ७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र पाँच एमेच्योर गरी कुल ३८ गल्फरले प्रतिस्पर्धा गरिरहेका छन्। दोस्रो दिनको समाप्तिमा उत्कृष्ट २१ प्रोफेसनल गल्फर र पाँच एमेच्योर खेलाडीले कट बनाउनेछन्।
कुल ८ लाख ४० हजार नगद पुरस्कार राशिको प्रतियोगिताको विजेताले एक लाख ४५ हजार, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ९४ हजार र ७० हजार नगद पुरस्कार पाउनेछन्। साथै कट बनाउने अन्य प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रकाशित: ६ मंसिर २०८० ०१:१८ बुधबार