युवा स्ट्राइकर निराजन धामीको गोल प्रेरणामा त्रिभुवन आर्मी फुटबल क्लब भारतमा जारी १३४औं डुरान्ड कपमा हारबाट जोगिएको छ।
जमशेदपुरको टाटा स्पोटर््स कम्प्लेक्समा त्रिभुवन आर्मीले शनिबार भारतको लद्दाख फुटबल क्लबविरुद्ध पुनरामन गर्दै १–१ गोलको बराबरी नतिजा निकालेका हो। यससँगै लद्दाखले डेब्यु संस्करणमा पहिलो अंक बटुल्यो। आर्मीको भने दोस्रो खेलमा पहिलो अंक आएको। त्रिभुवन आर्मीका प्रशिक्षक मेघराज केसीले आफ्नो सुरुआती ११ मा तीन खेलाडी परिवर्तन गरेका थिए।
उनले गोलकिपर समित श्रेष्ठको स्थानमा विकेश कुथु, आयुस तिम्सिनाको स्थानमा अभिष्कार खड्का र नवयुग श्रेष्ठको स्थानमा निराजन धामीलाई पहिलो रोजाइमा राखेका थिए। लद्दाखका प्रशिक्षक राजन मनीले ४–३–३ को फरमेसन खेलाएका थिए। यो टोलीको अग्रपंक्तीमा कमलेश, अजय र भारान्यु थिए।
खेलमा आर्मीले बल पोसेसन आफ्नो नियन्त्रणमा राखेको थियो। यद्यपि, जित भने निकाल्न सकेन। दुवै गोल पहिलो हाफमा सम्भव भएको हो। अन्तिम २० मिनेटमा आर्मीले अवसर सिर्जना गर्न संघर्ष गर्यो। पाएका अवसर सदुपयोग गर्न नसक्दा आर्मीले बराबरीमै चित्त बुझाउनुपर्यो। समूह ‘सी’ को आर्मीको यो दोस्रो र लद्दाखको पहिलो खेल हो। सुरुआतमा त्रिभुवन आर्मी पछाडि परेको थियो। तर, युवा स्ट्राइकर निराजनले गोल गर्दै आर्मीलाई बराबरीमा ल्याए। खेलको ४०औं मिनेटमा उनले गोल गरेका हुन्। काउन्टर अट्याकबाट पाएको थ्रु बल सुदपयोग गर्दै निराजनले गोल गरेका थिए।
यससँगै उनले विश्वचर्चित स्टार क्रिस्टियानोको सेलिब्रेसन ‘सिउ’ गरेका थिए। त्यसअघि लद्दाखले २३औं मिनेटमा अग्रता लिएको थियो। कर्नरबाट आएको क्रस सदुपयोग गर्दै सेन्टर ब्याक सिजुले हेडर मार्फत गोल गरेका हुन्। भारतका प्रख्यात प्रतियोगितामा गोल गर्ने उनी पहिलो लद्दाखी खेलाडी पनि भए। दोस्रो हाफमा त्रिभुवन आर्मीले फरवार्ड लाइनमा लगातार बनायो। यस क्रममा आर्मीले बल पोसेसन पनि आफ्नो नियन्त्रणमा राख्यो। दुवै फ्लाङ्क्सबाट आर्मीले लगातार दबाब बनाए पनि लद्दाखको अनुशासित रक्षापंक्ति र चुस्त गोलकिपिङ पार गर्न सकेन। नेपाली टोलीले लगातार अवसर बुने पनि बललाई जाली चुमाउन सकेनन्। दुवै तर्फबाट थप गोल भएन र नतिजा १–१ को बराबरीमा नै सकिए।
दुवै टोलीले जारी प्रतियोगितामा पहिलो अंक बटुले। पहिलो खेलमा आर्मी जमशेदपुर फुटबल क्लबसँग ३–२ ले पराजित भएको थियो। अब आर्मीले आफ्नो तेस्रो खेलमा मंगलबार इन्डियन आर्मी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने तालिका छ। यस समूहमा जमशेदपुर दुई खेलबाट ६ अंकका साथ शीर्ष स्थानमा छ।
इन्डियन आर्मी पुछारमा छ। जारी प्रतियोगितामा कुल २४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी टोलीलाई ६ वटा समूहमा विभाजन गरिएको छ। सिंगल राउन्ड रोबिनको आधारमा प्रतिस्पर्धा भएको प्रतियोगिता समूहको शीर्ष टोलीले सोझै क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछन्। समूहका दुई उत्कृष्ट उपविजेताले पनि अन्तिम आठमा स्थान बनाउनेछन्।
प्रकाशित: १८ श्रावण २०८२ ०७:५२ आइतबार