खेल

श्रीलंकासँग नेपाल पराजित

नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष च्यालेन्ज कपको दोस्रो खेलमा घरेलु टोली श्रीलंकासँग ३–० को सोझो सेटमा पराजय व्यहोरेको छ । 

कोलम्बोस्थित सुगाथादास इन्डोर रंगशालामा मंगलबार सम्पन्न खेल नेपालले २४–२६, १८–२५, १६–२५ ले गुमाएको हो । यसअघि सोमबार सम्पन्न पहिलो खेलमा नेपालले बंगलादेशलाई ३–१ को सेटमा पराजित गरेको थियो । 

पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट भने १९–२५ ले गुमाएको थियो । त्यसपछिका २ सेट नेपालले २५–२३, २५–२१ ले आफ्नो पक्षमा पा¥यो । श्रीलंकाको यो लगातार दोस्रो जित हो । 

श्रीलंकाले पहिलो खेलमा साउदी अरेबियालाई २५–१९, २५–१७, २६–२४ ले स्तब्ध बनाएको थियो । नेपालले अब बुधबार अफगानिस्तानको सामना गर्नेछ । 

अक्टोबर १५ सम्म हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, साउदी अरेबिया, उज्बेकिस्तान सहभागी छन् ।

प्रकाशित: २४ आश्विन २०८० ०१:२३ बुधबार

नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन पुरुष च्यालेन्ज कप श्रीलंका