खेल

राष्ट्रिय भलिबलमा नेपाल पुलिस र गण्डकी च्याम्पियन

उपाधिसहित नेपाल पुलिस क्लबका खेलाडीहरु। तस्बिर नागरिक

लामाचौर तीज महोत्सवमा आयोजित राष्ट्रिय महिला भलिबलको उपाधि नेपाल पुलिस क्लबले उचाल्दा पुरुष तर्फको उपाधि भने गण्डकी प्रदेशले जितेको छ।  

पोखरा–१९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको प्राङगणमा नवआर्दश सामुदायिक विकास समाजको आयोजनामा सञ्चालित प्रतियोगिताको महिला तर्फको फाईनलमा चन्द्रगिरी नगरपालिका न्यू डायमण्ड युथ स्पोट्र्स क्लवलाई ३—१ को सेटमा पराजित गर्दै उपाधि जित्यो। उत्कृष्ट पुनरागमन गर्दै पुलिसले नगद १ लाख ५० हजार राशीको पुरस्कार प्राप्त गर्यो।  

पहिलो सेटमा पराजय भोगेको पुलिसले लगातार तीन सेट आफ्नो पोल्टामा पार्यो। पुलिसले डायमण्ड माथि १८—२५, २५—२२, २५—१४ र २५—२० को सेटमा पराजित गरेको हो। उपविजेता भएको डायमण्डले १ लाख रुपैैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्य। एपिएफ तेस्रो स्थानमा रहँदै नगद ५० हजार प्राप्त गर्यो। एभरेष्ट भलिबल क्लब अंकविहीन हुदैं प्रतियोगिता टुग्याएको थियो।  

त्यसै गरी पुरुष तर्फ घरेलु टिम गण्डकी प्रदेश र नेपाल पुलिस क्लव बिचको फाइनल खेलमा गण्डकीले ३–२ सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो। तीज मेलामा आयोजित भलिबल प्रतियोगिताको सोमबार विहान भएको फाईनल खेलमा गण्डकीले उपाधिसहित नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ। गण्डकीले नेपाल पुलिस क्लबमाथि २५–२३, १९–२५, २५–२१, २६–२८ र अन्तिम सेट १५–११ को सेटमा पन्छाउँदै उपाधि पक्का गरेको थियो। उपविजेता पुलिसले नगद १ लाख रुपैयाँ प्राप्त गर्यो भने तेस्रो स्थानमा रहेको शसस्त्र प्रहरी बलले नगद ५० हजार रुपैयाँ प्राप्त गरेको छ।  

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा संचालन भएको प्रतियोगितामा पुरुष तर्फ ५ टिमको सहभागिता थियो। महिला तर्फ भने ४ टोलीले सहभागिता जनाएका थिए । पुरुष तर्फ गण्डकी तालिकाको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो। कुल चार खेलबाट गण्डकीको ९ अंक बटुल्दै फाइनलमा प्रवेश गरेको हो। समान खेलबाट समान अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै पुलिस फाइनलमा प्रवेश गरेको हो।

 सोमबार नै एपिएफले मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटले पराजित गर्दै तेस्रो बनेको थियो। भलिबल विजेतालाई नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी, क्लबका अध्यक्ष स्वागतमानसिंह भण्डारी लगायतले पुरस्कार प्रदान गरेका थिए।  

प्रकाशित: २ आश्विन २०८० ०८:५० मंगलबार

राष्ट्रिय भलिबल