खेल

राष्ट्रिय प्रतियोगिता गर्न कर्णालीमा समस्या नभएको दावी

सुर्खेतमा तयारी हुँर्दै गरेको प्रदेश रङ्गशाला। तस्बिर: गोविन्द केसी/नागरिक

 कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कुनै पनि समस्या नहुने बताईएको छ। कर्णाली प्रदेशमा अन्य प्रदेशका खेलकुद परिषद्का पदाधिकारीहरूले अवलोकनमा आएका बेला उनीहरुले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न कुनै पनि समस्या नहुने बताएका हुन्।

कर्णालीमा राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि अवस्था कस्तो छ भनेर अन्य प्रदेशका खेलकुद परिषद्का पदाधिकारीहरू आएका थिए। उनीहरुले कर्णालीमा खेलकुदको सम्भावना, भौतिक अवस्था, आवास, लगानी, केन्द्र र प्रदेश सरकारको तयारी लगायत विषयमा अवलोकन गरेका थिए। कर्णालीमा दुई हप्तादेखि उनीहरुले अवलोकन गरेका थिए। कर्णालीमा आएका सदस्य सचिवहरूले राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्न सक्षम रहेको  प्रतिक्रिया दिए। पूर्वाधार विकासको संरचना हेर्दा कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न तयार समस्या नदेखिएको कोशी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव हंसराज वाग्लेले पत्रकार भेटघाटमा बताए।

 कर्णालीमा आएपछि दशौं राष्ट्रिय प्रतियोगिता गर्न सक्षम देखिएको बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बताए। उनले सुर्खेतमा बन्दै गरेको प्रदेश रङ्गशालाको निर्माण लगायतका कुराहरूले राम्रो देखिएको बताए।

त्यस्तै लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले दशौं प्रतियोगिताका लागि कर्णाली प्रदेश सरकारले गरेको तयारी उपलब्धिमूलक तथा आशाकृत बनाएको बताए। कर्णालीमा प्रतियोगिता सञ्चालनका क्रममा स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग गर्नुपर्नेमा जोडमा सहभागी खेलकुद  पदाधिकारीहरूले बताए। हामीले सुदूरपश्चिममा छैटौँ खेलकुद प्रतियोगिता गर्दा बाँस ठड्याएर गर्नुपरेको तर, कर्णालीमा त धेरै सुविधाहरू देखिएको कुनै समस्या नहुने सुदूरपश्चिम प्रदेशका सदस्य सचिव दीपकबहादुर सिंहको भनाई थियो। कर्णालीका पहाडी र हिमाली जिल्लाहरूमा आवासको उचित व्यवस्थापन नभएकाले पनि खेलहरू सुर्खेत केन्द्रित गर्नुपर्ने अवस्था आउन सक्ने कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालले बताए। नवौँ प्रतियोगितामा ३६ वटा खेल भएका थिए। कर्णालीमा २०८१ मन्सिरमा प्रतियोगिता गर्ने तयारी भईरहेको छ। 

प्रकाशित: १८ श्रावण २०८० १०:२२ बिहीबार

दशौं राष्ट्रिय खेलकुद कर्णाली हंसराज वाग्ले बाग्मती प्रदेश खेलकुद कोशी प्रदेश खेलकुद परिषद्का सूर्यलाल भण्डारी