खेल

आर्मी र एपिएफको लगातार दोस्रो जित

आर्मीविरुद्ध बल स्पाइक गर्दै एपिएफकी निरुता ठगुन्ना। तस्बिर: नागरिक

विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार दोस्रो जित निकालेका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी लिगमा पुरुषतर्फ आइतबार भएको खेलमा आर्मी र एपिएफ दुवैले सफलता हात पार्दै लगातार दोस्रो जित निकालेका हुन्। नेपाल भलिबल संघको आयोजनामा भएको लिगमा आर्मीले दावाँली मिलन क्लबलाई ३–० सोझो सेटमा हराउँदा एपिएफले गण्डकी प्रदेश भलिबल संघमाथि ३–१ को सेटमा सफलता प्राप्त गर्‍यो। आर्मीले दावाँली मिलन क्लबलाई २५–१९, २५–११, २५–२० अंकले हरायो। पहिलो खेलमा आर्मीले सैलुङ बाघढुङ्गालाई हराएको थियो।

विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार दोस्रो जित निकालेका छन्।

पहिलो सेट २१–२५ ले गुमाएको एपिएफले त्यसपछि उत्कृष्ट पुनरागमन गर्‍यो। त्यसपछिको सेट एपिएफले २५–२१, २५–२३ र २५–१७ ले आफ्नो बनाउँदै जित निकाल्यो। त्यसअघि एपिएफले पहिलो खेलमा शनिबार दावाँली मिलन क्लबलाई पराजित गरेको थियो।

लगातार दुई सफलतासँगै आर्मी र एपिएफले अंकतालिकामा समान ६ अंक बटुलेका छन्। तीन पाकिस्तानी खेलाडी सम्मिलित टिपटप हेल्प नेपालले पहिलो खेलमा रामेछापको सैलुङ बाघढुङ्गा  स्पोटर्स क्लबलाई ३–० ले हरायो। प्रतियोगितामा दाबेदारको रूपमा हेरिएको हेल्प नेपालले सैलुङलाई २५–१२, २५–१५, २५–१९ ले पराजित गर्‍यो।

आइतबार नै भएको महिलातर्फ एपिएफले विभागीय प्रतिद्वन्द्वी आर्मीलाई ३–२ सेटमा हराए पनि अंक बाँड्न बाध्य भयो। संघर्षपूर्ण खेलमा एपिएफले पहिलो र दोस्रो सेट क्रमशः ३०–२८ र २५–२३ ले आफ्नो बनायो। तर, एपिएफले तेस्रो र चौथो सेट भने गुमाउन पुग्यो। आर्मीले तेस्रो सेट २५–२० र चौथो सेट २५–१९ ले आफ्नो बनाउँदै सेटमा २/२ को बराबरी गर्‍यो। तर, निर्णायक तथा पाँचौं सेटमा भने आर्मी चुक्दा एपिएफले बाजी मार्‍यो।

उक्त सेट एपिएफले १५–६ ले सहजै आफ्नो बनाएको थियो। यो नजितापछि एपिएफको दुई अंक र हारका बाबजुद आर्मीको एक अंक छ।

महिलामा नै भएको अर्को खेलमा प्रतिभा मालीको कप्तानीमा रहेको होङवाङ्जी न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले राष्ट्रिय टोलीकी कप्तान अरूणा शाहीको नेतृत्वमा रहेको गण्डकी प्रदेश भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो।

आइतबार नै भएको महिलातर्फ एपिएफले विभागीय प्रतिद्वन्द्वी आर्मीलाई ३–२ सेटमा हराए पनि अंक बाँड्न बाध्य भयो। संघर्षपूर्ण खेलमा एपिएफले पहिलो र दोस्रो सेट क्रमशः ३०–२८ र २५–२३ ले आफ्नो बनायो।

न्यु डायमन्डले पहिलो सेटमा मात्र आफ्नो प्रमुख खेलाडी प्रतिभालाई उतारे पनि गण्डकीमाथि २५–१७, २५–१६, २५–१५ को सहज जित निकाल्यो। आइतबारको अन्तिम खेलमा महिलातर्फ अर्को विभागीय टोली पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै लगातार दोस्रो सफलता निकाल्यो। पुलिसले एभरेस्टलाई २५–१०, २५–२२ र २५–०६ को सेटमा हराएको हो। 

प्रकाशित: २५ असार २०८० ०३:५३ सोमबार

विभागीय टोली त्रिभुवन आर्मी क्लब आर्मी र एपिएफको लगातार दोस्रो जित