खेल

लेबनानको विजयी सुरुआत

बंगलादेश (हरियो) र लेबनानको खेलाडी बलका लागि प्रतिस्पर्धा गर्दै। तस्बिर: साफ

भारतको बैंगलोरमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा बंगलादेशलाई २–० गोलअन्तरले पराजित गर्दै आमन्त्रित टोली लेबनानले विजयी सुरुआत गरेको छ।

बैंगलोरस्थित श्री कान्तिराव स्टेडियममा बिहीबार सम्पन्न दिनको पहिलो खेलमा समूह ‘बी’ को लेबनानले दोस्रो हाफमा गरेका दुई गोलले प्रतियोगितामा सुखद यात्रा आरम्भ भएको हो। प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए।

दोस्रो हाफमा भने लेबनानले आक्रामक खेल देखाउँदै समूहतालिकामा स्पष्ट अंक जोड्न सफल भएको हो। पहिलो हाफबाट नै दबाब र मौका बनाउँदै खेलेको लेबनानले अग्रता भने ८०औं मिनेटमा लिएको थियो।

दोस्रो हाफमा निरीह बनेको बंगलादेशविरुद्ध लेबनानका लागि कप्तान हसन मातुकले गोल गर्दै खाता खोलेका थिए। पछि परे पनि आक्रामक खेल देखाएको बंगलादेशले केही अवसर बुने पनि सदुपयोग गर्न सकेन।

निरन्तर दबाब झेलिरहेको बंगलादेशविरुद्ध लेबनानका लागि खालिल बढेरले इन्जुरी समयमा गोल थप्दै जित निश्चित गरेका हुन्। यससँगै बंगलादेश हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। जितसँगै आमन्त्रित टोली लेबनान समूहतालिकामा ३ अंक जोड्न सफल भयो। 

प्रकाशित: ८ असार २०८० ०२:११ शुक्रबार

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता लेबनानको विजयी सुरुआत