खेल

प्रशान्त र प्रगतिलाई स्वर्ण

मूलपानी तेक्वान्दो डोजाङका प्रशान्त धमला र प्रगति कुइकेलले प्रथम गोकर्णेश्वर नगरपालिका खुला आमन्त्रित मेयर कप तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्।

गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन, इस्टपोट उच्च माविको व्यवस्थापन र गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा जारी प्रतियोगिताको पुरुष २८ केजीमुनि फाइनलमा प्रशान्तले नव मन्जुश्रीका रेवत प्रधानलाई पराजित गरे।

महिला ३८ केजीमुनि फाइनलमा प्रगतिले बोधी सदनकी सन्ध्या तामाङलाई हराइन्। जोरपाटीस्थित इस्टपोलमा भइरहेको प्रतियोगिताको पुरुष २५ केजीमा नव मन्जुश्रीका सञ्जीव जिरेल तथा ३६ केजीमुनि कोटेश्वरका इमोन राणा पहिलो भए।

महिला ३० केजीमुनि नव मन्जुश्रीकी सिस्तोला कुइकेल, ३४ केजीमुनि कोटेश्वरकी सुरक्षा केसी, ४२ केजीमुनि फेरिल्यान्डकी अपेक्षा ढुंगाना, ४६ केजीमुनि गोकर्णेश्वरकी सुमिना तामाङ र ४९ केजीमुनि नव मन्जुश्रीकी सुष्मा राईले पहिलो स्थान हात पारे।

प्रतियोगिताको संघीय सांसद् सन्तोष चालिसेले एक कार्यक्रमबीच उद्घाटन गर्दै गोकर्णेश्वरको खेलकुदको विकासका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। दुई दिने प्रतियोगितामा १९ डोजाङका दुई सय ७० खेलाडीले विभिन्न १८ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजकले जनाएको छ।

प्रकाशित: २८ फाल्गुन २०७९ ०३:०९ आइतबार

मूलपानी तेक्वान्दो डोजाङका प्रशान्त धमला प्रतियोगिताको संघीय सांसद् सन्तोष चालिसे