खेल

१०औं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा विभागीय टोली एपीएफको फराकिलो जीत*

१० औं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गत महिला क्रिकेटतर्फ मंगलबार भएको दोस्रो खेलमा विभागीय टोली एपीएफले सानदार जीत निकालेको छ । वीरेन्द्रनगर क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको एपीएफले एक विकेटको क्षतिमा १९७ रनको विशाल स्कोर बनाएको थियो ।

उसका लागि ओपनर रेवती धामी र सिता रानामगरले सानदार सुरुवात गरे । कप्तान सिता रानामगरले सर्वाधिक ६६ रन बनाइन् । ४२ बल खेलेकी उनले एक छक्का र नौ चौका प्रहार गरिन् ।  

अर्की ओपनर रेवतीले नटआउट ५५ रनको योगदान दिइन् । ५३ बलको सामना गरेकी उनले सात चौका प्रहार गरिन् । तेस्रो क्रममा ब्याटिङ गर्न आएकी इन्दू बर्माले बिष्फोटक ब्याटिङ गरिन् । २७ बलमा १२ चौकाको मद्दतमा सानदार ५८ रनको नटआउट पारी खेलेकी इन्दू बर्मा प्लेयर अफ द म्याच भइन् ।

एपीएफको एक मात्रै विकेट लुम्बिनीकी आयुषा भुषालले लिएकी थिइन् ।

जवाफी ब्याटिङ गरेको लुम्बिनी १५.४ ओभरमा अलआउट हुँदै ३९ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका लागि ओपनर श्रुती बुढाथोकीले सर्वाधिक १५ रन बनाइन् । यस्तै अनिता चौधरीले आठ, सरस्वती पुनले सात र कप्तान आश्मा पुनमगरले पाँच रन बनाए । बाँकी ब्याटरहरुले एक रन पनि जोड्न सकेनन् ।

लुम्बिनीलाई फराकिलो अन्तरले हराउन एपीएफकी करुणा भण्डारीले सर्वाधिक तीन विकेट लिइन् । यस्तै रेखा रावल, राजमती ऐरी, विनु बुढामगरले समान दुई–दुई विकेट लिए भने सुमन विष्टले एक बिकेट लिइन् ।  

यसअघिको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लवले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको थियो ।

*यसअघिको हेडलाइनमा अन्यथा भएकोमा सच्याइएको छ- सम्पादक

प्रकाशित: ८ मंसिर २०८३ १८:३१ मंगलबार