विभागीय टोली त्रिभुवन आर्मी क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटतर्फ सहआयोजक कर्णाली प्रदेशलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ।
कर्णाली आफ्नो दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ। कर्णाली यसअघि कोशी प्रदेशसँग पराजित भएको थियो।
शुक्रबार वीरेन्द्रनगर रंगशालामा भएको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको आर्मीले चार विकेट गुमाउँदै १३८ रन बनायो।
महिला राष्ट्रिय टिमकी सदस्य आर्मीकी सम्झना खड्काले ५८ बल खेल्दै सर्वाधिक ६२ रन बनाइन्। उनले १० चौका प्रहार गरिन्।
यस्तै यशोदा विष्टले ३३ रन बनाउँदा कविता कुँवर छ बलमा ११ रन बनाउँदै नटआउट रहिन्। बिन्दु रावलले सात, रुवि पोदारले पाँच रन थपिन्। आर्मीले २० रन अतिरिक्त पाएको थियो।
कर्णालीका बलर गंगा खड्का, रमा बुढाथोकी र सोना चन्द र किरणकुमारी कुँवरले एक–एक विकेट लिए।
१३९ रनको लक्ष्य पछ्याएको कर्णाली ४१ रनमै अलआउट भयो। कर्णालीकी अन्तिमतिर ब्याटिङ गर्न आएकी जयन्ती चन्दले १० रन बनाउनुबाहेक अरुले दोहोरो अंक छुन सकेनन्।
कप्तान करुणा कुमारी कुँवर आठ रन बनाएर आउट हुँदा शिखा दवाडीले छ रन बनाइन्। यस्तै रेखा सोनीले पाँच, रविना बुढामगरले तीन तथा उमा चौधरी, श्रुती बुढा र अञ्जु गुरुङले एक–एक रन बनाइन्।
कर्णालीलाई सस्तैमा समेट्ने क्रममा आर्मीकी मनिषा उपाध्यायले चार विकेट लिइन्। चार ओभर बलिङ गरेकी मनिषाले जम्मा १० रन मात्रै दिइन्।
यस्तै यमुना थारुले चार ओभर बलिङ गर्दै एक मेडन राखेर तीन विकेट लिइन् भने कविता कुँवरले तीन ओभर बलिङ गर्दै दुई विकेट लिइन्। लक्ष्मी साउँदको नाममा एक विकेट रह्यो।
आर्मीका लागि सर्वाधिक ६२ रन बनाएकी सम्झना प्लेयर अफ द म्याच घोषित भइन्।
प्रकाशित: ११ मंसिर २०८३ १२:५७ शुक्रबार