खेल

विजेता क्रिकेटरलाई जनही २ लाख

तस्बिर: क्यान

सरकारले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया, स्कटल्यान्ड र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखला क्लिन स्विप गरेको नेपाली क्रिकेट टोलीका सदस्यहरूलाई सम्मान गर्ने भएको छ।  

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार नेपाली राष्ट्रिय क्रिकेटरसँग भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले टोलीका सदस्यलाई जनही २ लाख रूपैयाँसहित सम्मान गर्ने जनाएका हुन्।  

त्रिकोणात्मक शृंखलाअन्तर्गत नेपालले सबै खेल जितेर सिरिज क्लिन स्विप गरेको थियो।  लिग–२ को त्रिकोणात्मक शृंखला नेपालले पहिलो पटक क्लिन स्विप गरेको हो।  नेपालले शृंखलामा नामिबिया र स्कटल्यान्डमाथि २/२ खेलमा विजय हात पारेको हो।  यस्तै नेपालले लगातार चार खेलमा पहिलो पटक जित निकालेको थियो।  शृंखलाअन्तर्गत नेपालले नामिबियालाई पहिलो खेलमा दुई र दोस्रो खेलमा तीन विकेट तथा स्टकल्यान्डलाई पहिलो खेलमा तीन र दोस्रो खेलमा दुई विकेटले पराजित गरेको थियो।  प्रधानमन्त्री दाहालले छोटो समयमा नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरको उचाइ स्थापित गरेको र सिंगो राष्ट्र र आमनेपाली जनताका लागि गौरव दिलाएको बताए।  

‘छोटो समयमा नेपालले क्रिकेटमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उचाइ स्थापित गरिसकेको छ।  यो सिंगो राष्ट्र र आम नेपाली जनताका लागि पनि गौरवको कुरा हो,’ प्रधानमन्त्री दाहालले भने, ‘यस शृंखलामा पहिलो पटक सबै खेल जितेर तपाईंहरूले नेपाली जनताको शिर ठाडो बनाउने ऐतिहासिक भूमिका खेल्नुभएको छ।  नेपाल सरकारको तर्फबाट प्रेरणास्वरूप जनही २ लाख रूपैयाँ दिने घोषणा गर्छु। ’

नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अर्काे साता पपुवा न्युगिनी, नेपाल र युएई सम्मिलित त्रिकोणात्मक सिरिजका लागि शनिबार युएई जाँदै छ।  

सन्दीपको स्थान अन्य स्पिनरले लिनुपर्छ : पौडेल

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेको स्थान अन्य स्पिनरले लिनुपर्ने बताएका छन्।  

कप्तान रोहितले युएईमा हुन लागेको आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा मुख्य लेग स्पिनर सन्दीप नहुने भएपछि टोलीका अन्य स्पिनरले जिम्मेवारी लिनुपर्ने बताएका हुन्।  बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै कप्तान रोहितले सन्दीपको स्थान अन्य बलर तथा स्पिनरले लिनपर्ने बताएका हुन्।  उनले सन्दीप टोलीको महŒवपूर्ण बलर भएको र ४ खेलमा १३ विकेट लिँदा टोलीलाई सहज भएको बताए।  सन्दीपको अनुपस्थितिमा टोलीलाई धेरै खाँचो पर्ने तर उनको स्थानलाई अन्य खेलाडीले लिनुपर्ने बताएका हुन्।  

‘महत्वपूर्ण टोली सदस्य सन्दीपको अनुपस्थिति टोलीमा कमी महसुस हुनेछ।  घरेलु मैदानमा सम्पन्न ४ खेलमा १३ विकेट लिएका छन्।  जसले गर्दा नेपालले घरेलु मैदानमा राम्रो नतिजा निकाल्न सक्यो,’ कप्तान रोहितले भने, ‘सन्दीपले महत्वपूर्ण अवस्थामा विकेट निकाल्थे।  उनी नहुँदा टोलीमा फरक त पर्छ नै तर अब अन्य स्पिनरहरूले त्यो भूमिका पूरा गर्नुपर्छ। ’

नेपाली राष्ट्रिय क्रिकेट टिम शनिबार युएई भ्रमण गर्दै छ।  युएई भ्रमणको क्रममा नेपालले आयोजक युएएई र पपुवा न्युगिनीसँगै दुई खेलको क्रिकोणात्मक शृंखला खेल्ने तालिका रहेको छ।  नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई अदालतले विदेश जान रोक लगाएको छ।  त्यसैले नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई टोलीमा समावेश गरेको छैन।  भ्रमणको क्रममा नेपालले युएईको भूमिमा चार खेल खेल्नेछ  भने लगत्तै नेपाल फर्किएर थप उनै टोलीसँग थप चार खेल खेल्नेछ।  युएई भ्रमणअन्तर्गत नेपालले पहिलो खेल २७ तारिखमा पपुवा न्युगिनिसँग खेल्नेछ भने दोस्रो खेल २ मार्चमा युएईसँग हुनेछ।  यस्तै तेस्रो खेल ३ मार्चमा पपुवा न्युगिनीसँग पुन: हुनेछ भने ६ मार्चमा घरेलु टोली युएईसँग दोस्रो खेलेर स्वदेश फकिर्नेछ।  

नेपाली टोली

रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुल्शन झा, भीम सार्की, आरिफ शेख, प्रतीश जिसी र श्याम ढकाल (मौसम)। 

प्रकाशित: १२ फाल्गुन २०७९ ०१:४० शुक्रबार

नेपाली क्रिकेट टोली