नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’गरेको आरोप लागेका १२ जनामध्ये ५ जनाविरुद्ध सोमबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रतिवेदनका आधारमा हालसम्म पक्राउ परेका तीनजना र ठेगाना खुलेका तर फरार रहेका दुईजनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो।
सिआइबीको अनुसन्धानले मुख्य योजनाकार देखिएका सेभेन थ्री स्पोर्ट्स कम्पनीका मालिक जतिन अलुवालियासहित सातजनामाथि भने मुद्दा दर्ता हुन सकेन। उनीहरूको स्थायी ठेगाना नखुलेकाले तत्काल मुद्दा दर्ता हुन नसकेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्यूतमणि न्यौपानेले बताए। उनले भने, ‘उनीहरू न पक्राउ परेका छन् न उनीहरूको स्थायी ठेगाना खुलेको छ। यसकारण उनीहरूको मुद्दा तामेली गर्न यकिन नभएकाले र अहिले जिल्ला अदालतले दर्ता गर्न नसकिने बताएपछि रोकेका छौं।’ ठेगाना खुल्नासाथ मुद्दा दर्ता हुने उनले बताए।
मुद्दा दर्ता हुन बाँकी अन्य ६ जनामा विराटनगर सुपर किङ्सका कप्तान रहेका वेस्ट इन्डिजका एन्ड्रे म्याकार्थी, सेभेन थ्री स्पोर्ट्सका सिइओ अभिषेक सक्लानी, सोही कम्पनीमा सम्बद्ध विनोद ध्यानी, काठमाडौं नाइट्सका म्यानेजर राहुल शर्मा र क्रिकेटर मोहमद आदिललाई ‘एप्रोच’ गर्ने समीर शेख र महमद आरिफ शेखलाई ‘एप्रोच’ गर्न पुगेका वीरेन्द्र साह छन्। मुद्दा दायर भएकाहरूमा खेलमा फिक्सिङको आरोप लागेका क्रिकेटर मोहमद आदिल आलम, खेलाडीलाई फिक्सिङको ‘एप्रोच’ गर्ने कार्यमा आरोप लागेका पूर्वक्रिकेटर महबुब आलम र क्रिकेटर महम्मद आरिफ शेखलाई फिक्सिङको प्रस्तावमा आरोप लागेका वीरगन्जका क्रिकेटर नीतेश गुप्ता भन्ने नीतेश साह छन्।
ठेगाना नखुल्दा अलुवालियामाथि मुद्दा दर्ता भएन
उनीहरू तीनै जनालाई पक्राउ गरेर अदालतमा उपस्थित गराइएको छ। यस्तै काठमाडौं नाइट्सका मालिक नवीन कँडेलविरुद्ध विवादित सेभेन थ्री स्पोर्ट्स प्रालिका मालिक जतिन अलुवालिया, सिइओ अभिषेक सक्लानी र काठमाडौं नाइट्सकै सहयोगी भनिएका विकास ध्यानीसँग मिलेमतो गरेको आरोप लगाएर मुद्दा दायर गरिएको छ। उनी भने फरार सूचीमा छन्।
यस्तै अर्को फरार सूचीमा राखेर मुद्दा दर्ता गराइएका सप्तरीको राजविराज नगरपालिका–४ का रवि माझी छन्। उनले पूर्व क्रिकेटर महबुब आलममार्फत महम्मद आरिफ शेखलाई फिक्सिङका लागि एप्रोज गरेको सिआइबीको अनुसन्धान टोलीको निष्कर्ष छ।
अभियोग पत्रमा पाँचै जनालाई ‘आर्थिक लाभ आर्जन गर्ने मनसाय र उद्देश्यका साथ प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने, बाजी जिताउने वा हराउने उद्देश्यले खेलमा मिलेमतो तथा अनियमितता गरेको’ आरोप लगाएर प्रतिवादी बनाइएको छ। अभियोजन पत्रमा उनीहरूउपर राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३१ विपरीत दफा ३२ (ग) बमोजिमको कसुरमा दफा ३३ अनुसारको सजायको मागदाबी गरिएको छ।
दफा ३१ मा ‘खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने’ व्यवस्थाअन्तर्गत ‘नेपालभित्र वा नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडीसँग प्रतिस्पर्धा गर्दा कुनै खेलसम्बद्ध खेलाडी वा पदाधिकारीले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने गरी कुनै खेलाडी वा खेलाडीको समूहसँग मिलेमतो गर्न वा कसैको प्रलोभनमा पर्न वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउन कार्य गर्न हुँदैन’ भनी उल्लेख छ। दफा ३२ (ग) ले उक्त कार्य गरेमा ‘कसुर’ मानेको छ।
यस्तो कसुरमा दफा ३३ (ग) अनुसार तीन वर्ष कैद र ५० हजार रूपैयाँसम्म जरिवाना गरी सो कसुर गर्दा कुनै रकम लेनदेन गरेको भए त्यस्तो लेनदेन गरेको रकमसमेत जफत हुने प्रावधान छ। यस्तै कसुर गर्न आदेश वा निर्देशन दिने, कसुर गर्न दुरुत्साहन गर्ने, उक्साउने वा मद्दत गर्ने व्यक्तिलाई पनि मुख्य कसुरदारसरह सजाय हुने व्यवस्था छ।
महबुबद्वारा स्वीकार, आदिलद्वारा अस्वीकार
अभियोगपत्रमा उल्लेख गरिएको प्रहरी अनुसन्धानको प्रतिवेदन र अभियुक्तको बयानमा प्रतिवादी बनाइएकाहरूमध्ये पूर्वक्रिकेटर महबुबले आफूमाथिको कसुर स्वीकार गरेको उल्लेख छ। महबुबले ‘बुकी’ (सट्टेबाज) रवि माझीसँग कुराकानी गरेर खेलाडीहरूसँग मध्यस्थकर्ताका रूपमा भूमिका खेलेको कुरा स्वीकार गरेको उनको बयानमा देखिन्छ। अर्का प्रतिवादी बनाइएका क्रिकेटर मोहमद आदिलले आफूलाई टी–२० लिगकै क्रममा चिनजान भएको समीर शेखले प्रलोभन दिए पनि आफूले अस्वीकार गरेको बयान दिएका छन्। आफ्नो खातामा जम्मा हुन आएको रकम पनि सापटी र आफ्नै पारिश्रमिक रहेको उनको दाबी छ।
यस्तै प्रतिवादीका रूपमा पक्राउ परेका वीरगन्जका क्रिकेटर नीतेश साहले पनि महमद आरिफ शेखलाई आफूले प्रलोभन दिने काम नगरेको बयान दिएको देखिन्छ। आफ्नो मौसा (सानीआमाको देवर)ले आरिफ शेखलाई भेट्टाइदिन गरेको आग्रहअनुसार भेट मात्रै गराइदिएको उनको बयान छ। यस्तै अभियोग पत्रमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्षदेखि विभिन्न टिमका व्यवस्थापक, फ्रेन्चाइजी, खेलाडी, कमेन्टेटरसम्मका ४७ जनाको साविती बयान पनि उल्लेख छ। यस्तै थप सिआइबीको अनुसन्धानका क्रममा भेटिएका प्रमाण पनि पेस गरिएका छन्।
पुस ७ देखि २७ गतेसम्म चलेको नेपाल टी–२० लिगमा स्पट फिक्सिङको कुरा उठेपछि सिआइबीले अनुसन्धान थालेको थियो। सिआइबीको अनुसन्धानले गत बुधबार अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो। सिआइबीले प्रतियोगितामा खेलाडी चयनदेखि नै फिक्सिङको योजना बनेको निष्कर्ष निकालेको छ। जसको मुख्य योजनाकार आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स र त्यसका मालिक अलुवालिया रहेको निष्कर्ष छ।
साथै दुईजना खेलाडी, पूर्वखेलाडी मेहबुब आमल, व्यवस्थापक र बुकीसहित १२ जना यसमा दोषी देखाउँदै उनीहरूउपर मुद्दा चलाउनुपर्ने सिआइबीको राय छ। जसअनुसारै सरकारी वकिल कार्यालयले पाँच जनामाथि मुद्दा दर्ता गरी बाँकी सात जनामाथि पनि मुद्दाको तयारी गरेको छ ।
प्रकाशित: ९ फाल्गुन २०७९ ०१:०४ मंगलबार