युवराज खड्काको निर्णायक गोलको सहयोगमा शनिबार सातदोबाटो युथ क्लबमाथि १–० को रोमाञ्चक जित निकाल्दै विभागीय टोली एपिएफ क्लब मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा एपिएफ क्लबले ललितपुरको सातदोबाटो युथ क्लबलाई पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो। खेलमा एपिएफका युवराज खड्का नायक बने। उनले पाँचांै मिनेटमा हेडमार्फत गरेको गोल नै निर्णायक बन्यो। ३६औं मिनेटमा सातदोबाटोले बराबरी गर्ने मौका खेर फाल्यो। गोलरक्षक राजु नगरकोटी र डिफेन्डर तालमेलको अभावमा फुत्किएको बललाई सातदोबाटोका भुवन बस्नेतले सदुपयोग गर्न सकेनन्। दोस्रो हाफमा दुवै टोलीलेले खासै गतिलो मुभ बनाउन सकेनन्। अतिरिक्त समयको अन्त्यतिर सातदोबाटोका नीरज चौधरीको प्रहार पोस्टको थोरै माथिबाट बाहिरिएको थियो। खेलको म्यान अफ दी म्याच एपिएफका मणि लामा घोषित भए। उनले नगद १० हजार रूपैयाँसहित ट्रफी प्राप्त गरे।
प्रकाशित: १ फाल्गुन २०७९ ००:४१ सोमबार